काठमाडौं । अविरल वर्षापछि आएको बाढी र पहिरोका कारण देशभरका प्रमुख राजमार्ग तथा सडकखण्ड प्रभावित भएका छन् । नेपाल प्रहरीले शनिबार बिहान ७ बजेसम्म सार्वजनिक गरेको विवरणअनुसार बागमती र कोशी प्रदेशका विभिन्न जिल्लामा सडक अवरुद्ध भएका छन् ।
लगातारको वर्षा र पहिरोको जोखिमलाई मध्यनजर गर्दै विभिन्न जिल्लामा रात्रिकालीन सवारी आवागमनमा समेत पूर्ण रोक लगाइएको प्रहरीले जनाएको छ ।
काठमाडौं उपत्यकासँग जोडिएको ललितपुरको बागमती गाउँपालिकास्थित भट्टेडाँडा र गोदावरी नगरपालिकाको बिखेंधारामा पहिरो खसेपछि कान्ति लोकपथ अवरुद्ध भएको छ ।
काभ्रेपलाञ्चोकको रोशी र धुलिखेल क्षेत्रमा पहिरो गएपछि बीपी राजमार्ग र अरनिको राजमार्ग बन्द भएका छन् । धादिङको बेनीघाट, कृष्णभीर र गजुरीलगायत स्थानमा पहिरो गएपछि पृथ्वी राजमार्गमा समेत यातायात ठप्प भएको प्रहरीले जनाएको छ ।
धादिङ आसपासको पृथ्वी राजमार्गमा अर्को सूचना जारी नभएसम्म सम्पूर्ण सवारी साधन सञ्चालनमा रोक लगाइएको छ ।
त्यस्तै, रसुवा र नुवाकोटका विभिन्न सडकखण्ड पनि बाढी र पहिरोका कारण लामो समयदेखि प्रभावित छन् । नुवाकोटको पासाङ ल्हामु सडकखण्ड तथा टोखा–छहरे सडकखण्डमा सवारी सञ्चालन हुन सकेको छैन ।
मकवानपुरको भीमफेदी र हेटौंडाको नेवारपानीमा पहिरो गएपछि कान्ति लोकपथ र महेन्द्र राजमार्गसमेत अवरुद्ध भएका छन् ।
कोशी प्रदेशमा पनि बाढी र पहिरोले प्रमुख सडकखण्ड प्रभावित भएका छन् । ओखलढुंगाको मानेभञ्ज्याङस्थित भँडारे खोलामा आएको बाढीले सिद्धिचरण राजमार्ग अवरुद्ध भएको छ ।
पाँचथरको नावाखोला र दोभाने खोलामा बाढी तथा पहिरो आएपछि तमोर करिडोर र मध्यपहाडी लोकमार्ग बन्द भएका छन् ।
भारी वर्षाको पूर्वानुमान रहेकाले सम्भावित क्षति न्यूनीकरण गर्न विभिन्न जिल्लामा रात्रिकालीन सवारी आवागमनमा समेत रोक लगाइएको छ ।
कोशी प्रदेशका सोलुखुम्बु, भोजपुर, इलाम, खोटाङ र उदयपुरमा बेलुकादेखि बिहानसम्म सवारी सञ्चालनमा रोक लगाइएको छ । बागमती प्रदेशका काभ्रे, सिन्धुली, मकवानपुर र दोलखामा पनि असोज ११ गतेसम्म रात्रिकालीन सवारी आवागमनमा पूर्ण रोक लगाइएको प्रहरीले जनाएको छ ।
सडक अवरुद्ध भएपछि विभिन्न स्थानमा सयौँ यात्रु अलपत्र परेका छन् । प्रहरीले अत्यावश्यक सेवाका एम्बुलेन्स, दमकल तथा अत्यावश्यक खाद्यान्न बोकेका सवारी साधनलाई भने सम्बन्धित निकायसँग समन्वय गरी सञ्चालन गर्ने व्यवस्था मिलाइएको जनाएको छ ।
प्रहरीले वर्षाका कारण सडकमा थप जोखिम हुन सक्ने भएकाले यात्रु तथा सवारी चालकलाई आवश्यक सतर्कता अपनाउन आग्रह गरेको छ ।