बुधबार, कार्तिक ११ २०८३

बुधबार, कार्तिक ११ २०८३

राजमार्ग बन्द भएपछि काठमाडौंमै रोकिए लामो दूरीका सार्वजनिक सवारी

शुक्रबार, असोज ९ २०८३

काठमाडौं । बिहीबारदेखि देशका विभिन्न स्थानमा भइरहेको अविरल वर्षाका कारण प्रमुख राजमार्गहरू अवरुद्ध भएपछि लामो दूरीका सार्वजनिक सवारीसाधन काठमाडौंमै रोकिएका छन्।

संघीय राजधानी काठमाडौंलाई देशका विभिन्न भागसँग जोड्ने मुख्य सडकखण्डहरूमा बाढी र पहिरोका कारण यातायात अवरुद्ध भएपछि यात्रुसमेत प्रभावित भएका छन्।

काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी उपरीक्षक नरेशराज सुवेदीका अनुसार काठमाडौं जोड्ने प्रमुख सडकखण्डहरू बन्द भएकाले लामो दूरीका सार्वजनिक बस उपत्यकामै रोकिएका हुन्।

उनका अनुसार पृथ्वी राजमार्ग र बीपी राजमार्गका विभिन्न स्थानमा पहिरो खसेपछि सडक यातायात पूर्णरूपमा अवरुद्ध भएको छ। काठमाडौंबाट हेटौंडा जोड्ने फर्पिङ सडकखण्ड भने सञ्चालनमा रहेकाले सो मार्गबाट साना सवारीसाधन आवतजावत गरिरहेका छन्।

नयाँबसपार्क सञ्चालन गर्दै आएको लोत्से बहुउद्देश्यीय प्रालिका महाप्रबन्धक पंकज मल्लका अनुसार बिहीबार साँझदेखि नै गोंगबुस्थित नयाँबसपार्कमा सार्वजनिक सवारीसाधन रोकिएका छन्।

देशका विभिन्न क्षेत्रबाट काठमाडौं जोड्ने राजमार्गहरू बाढी र पहिरोका कारण ठाउँ–ठाउँमा अवरुद्ध भएपछि अधिकांश सवारीसाधन नयाँबसपार्क परिसरमै रोकिएका हुन्।

यसैबीच, काठमाडौं उपत्यकामा बिहीबार बिहानैदेखि निरन्तर भारी वर्षा भइरहेको छ। लगातारको वर्षाका कारण उपत्यकाका नदी तथा खोलामा पानीको बहाव बढ्दै गएको छ।

नदीमा जलसतह बढेसँगै सम्भावित जोखिमलाई ध्यानमा राख्दै काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले नदी किनारका करिडोर सडकमा सवारीसाधन नरोकिन र पार्किङ नगर्न आग्रह गर्दै माइकिङ गरिरहेको छ।

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले पनि देशभर भारी वर्षा भइरहेकाले राजमार्गमा जुनसुकै बेला पहिरो जान सक्ने भन्दै चालक तथा व्यवसायीलाई विशेष सतर्कता अपनाउन आग्रह गरेको छ।

महासंघका महासचिव डेकनाथ गौतमले वर्षाका कारण राजमार्गहरू जुनसुकै बेला अवरुद्ध हुन सक्ने भएकाले सुरक्षा निकायसँग समन्वय गरेर मात्र सवारीसाधन सञ्चालन गर्न व्यवसायी तथा चालकलाई अपिल गरेका छन्।

मौसम विज्ञान विभाग तथा सम्बन्धित निकायले असोज ८ देखि १२ गतेसम्म देशका अधिकांश क्षेत्रमा भारी वर्षा हुने तथा बाढी र पहिरोको जोखिम रहने पूर्वानुमान गर्दै नागरिकलाई उच्च सतर्कता अपनाउन आग्रह गरेका छन्।