बुधबार, कार्तिक ११ २०८३

बुधबार, कार्तिक ११ २०८३

अविरल वर्षापछि पृथ्वी राजमार्ग र नारायणगढ–मुग्लिन सडक अनिश्चितकालका लागि बन्द, सवारीसाधन होल्ड

शुक्रबार, असोज ९ २०८३

चितवन । अविरल वर्षाका कारण पृथ्वी राजमार्ग र नारायणगढ–मुग्लिन सडकखण्ड अर्को सूचना जारी नभएसम्मका लागि बन्द गरिएको छ।

बिहीबारदेखि निरन्तर भइरहेको वर्षाका कारण विभिन्न स्थानमा पहिरो खसेको र थप जोखिम बढ्न सक्ने अवस्था देखिएपछि सडक बन्द गरिएको हो।

प्रमुख जिल्ला अधिकारी गणेश अर्यालका अनुसार बिहीबार राति ८ बजेदेखि शुक्रबार बिहान ५ बजेसम्म सवारी आवागमन रोक्ने निर्णय गरिएको थियो। तर, वर्षा नरोकिएपछि अर्को सूचना जारी नभएसम्मका लागि दुवै सडकखण्डमा यातायात बन्द गरिएको हो।

पृथ्वी राजमार्गका विभिन्न स्थानमा पहिरो खसेपछि चितवन खण्डमा समेत सवारी आवागमन रोकिएको प्रमुख जिल्ला अधिकारी अर्यालले जानकारी दिए।

नारायणगढ–मुग्लिन सडकखण्ड हुँदै दैनिक १० हजारभन्दा बढी तथा पृथ्वी राजमार्ग हुँदै १४ हजारभन्दा बढी सवारीसाधन सञ्चालन हुने गरेका छन्।

निरन्तर वर्षाका कारण पहिरो तथा सडक अवरुद्ध हुने जोखिम कायमै रहेकाले यात्रुलाई वैकल्पिक मार्ग प्रयोग गर्न र सडक खुलेको आधिकारिक सूचना नआएसम्म यात्रा नगर्न प्रशासनले आग्रह गरेको छ।