बुधबार, कार्तिक ११ २०८३

बुधबार, कार्तिक ११ २०८३

आज र भोलि पनि झरी, गण्डकी र लुम्बिनीमा भारी वर्षाको सम्भावना

शुक्रबार, असोज ९ २०८३

काठमाडौं । काठमाडौं उपत्यकासहित देशका अधिकांश क्षेत्रमा निरन्तर वर्षा भइरहेको छ। बंगालको खाडीमा विकसित न्यूनचापीय प्रणालीको प्रभावले बुधबारदेखि सुरु भएको वर्षा आज र भोलि पनि जारी रहने मौसमविद्ले बताएका छन्।

मौसमविद्का अनुसार आइतबारदेखि भने मौसममा क्रमिक सुधार आउने सम्भावना छ। निरन्तरको वर्षाका कारण बाढी, पहिरो र डुबानको जोखिम बढेकाले आवश्यक सतर्कता अपनाउन मौसम पूर्वानुमान महाशाखाले आग्रह गरेको छ।

महाशाखाका अनुसार कोशी, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका हिमाली भूभागका अधिकांश स्थान तथा सुदूरपश्चिम प्रदेशका हिमाली भूभागका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा तथा हिमपातको सम्भावना छ।

यस्तै, कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी तथा तराई भूभाग, कर्णालीका अधिकांश पहाडी क्षेत्र, मधेशका केही स्थान तथा सुदूरपश्चिमका पहाडी र तराई भूभागका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।

कोशी, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका थोरै स्थानमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना छ। लुम्बिनी र गण्डकी प्रदेशका एक–दुई स्थानमा अति भारी वर्षा हुन सक्ने पूर्वानुमान छ।

मधेश प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ भने मधेशसहित कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका तराई क्षेत्रमा केही स्थानमा हावाहुरी चल्न सक्ने महाशाखाले जनाएको छ।

गण्डकी र लुम्बिनीमा वर्षा केन्द्रित हुने

मौसमविद् उज्ज्वल उपाध्यायका अनुसार आज बिहानदेखि गण्डकी प्रदेशका अधिकांश क्षेत्रमा तथा लुम्बिनीको विशेषगरी महाभारत क्षेत्रदेखि तल्लो भूभागमा वर्षा बढी केन्द्रित हुने सम्भावना छ।

उनका अनुसार कोशी प्रदेशतर्फ भने वर्षाको तीव्रता तुलनात्मक रूपमा केही कम हुने अनुमान छ।

निरन्तर वर्षाका कारण बाढी र पहिरोको जोखिम बढ्ने भएकाले आज र भोलि लामो दूरीको यात्रा नगर्न मौसमविद्ले सुझाव दिएका छन्। जोखिमयुक्त क्षेत्रमा रहेका नागरिकलाई विशेष सावधानी अपनाउन पनि आग्रह गरिएको छ।

पछिल्लो २४ घण्टामा सबैभन्दा धेरै वर्षा इलामको कन्याममा मापन भएको छ। त्यहाँ ११४ मिलिमिटर वर्षा भएको छ।

इलामको जितपुरमा ९१ मिलिमिटर, काभ्रेको रोशीमा ९७.८ मिलिमिटर, पाल्पाको अर्चलेमा ९३.८ मिलिमिटर तथा सोलुखुम्बुको पाख्रिबासमा ८५.२ मिलिमिटर वर्षा मापन भएको छ।