बिहिबार, कार्तिक १२ २०८३

बिहिबार, कार्तिक १२ २०८३

काठमाडौँ भित्रिने–बाहिरिने सबै मुख्य राजमार्ग बन्द, निरन्तर वर्षाले थपियो जोखिम

शुक्रबार, असोज ९ २०८३

काठमाडौं । काठमाडौँ उपत्यका भित्रिने र बाहिरिने सबै मुख्य राजमार्ग पहिरोका कारण अवरुद्ध भएका छन्। बिहीबार दिउँसैदेखि निरन्तर भइरहेको वर्षाका कारण पृथ्वी राजमार्ग, कान्ति लोकपथ र बीपी राजमार्गमा यातायात ठप्प भएको हो।

धादिङको कृष्णभिरसहित विभिन्न स्थानमा पहिरो खसेपछि पृथ्वी राजमार्ग पूर्णरूपमा अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ। प्रहरीका अनुसार कृष्णभिरसहित सात स्थानमा ढुंगासहितको पहिरो खसेको छ।

बिहीबार साँझदेखि रातभर यातायात रोकिएको पृथ्वी राजमार्ग शुक्रबार बिहान ५ बजेदेखि सञ्चालनमा ल्याउने तयारी गरिएको थियो। तर, निरन्तर वर्षाका कारण पहिरो पन्छाउन समस्या भएपछि राजमार्ग अनिश्चितकालका लागि बन्द गरिएको प्रहरीले जनाएको छ।

पहिरो हटाउने प्रयास भइरहेको भए पनि वर्षा नरोकिँदा सडक खुलाउन कठिनाइ भइरहेको प्रहरीको भनाइ छ।

यसअघि भदौ १४ गते त्रिशूली नदीको कटानका कारण कृष्णभिर क्षेत्रमा सडक भासिएपछि करिब दुई साताको प्रयासमा डाइभर्सन निर्माण गरी यातायात सञ्चालन गरिएको थियो। अहिले सोही डाइभर्सनसहित विभिन्न स्थानमा पहिरो खसेपछि सडक पुनः अवरुद्ध भएको हो।

यसैगरी, कान्ति लोकपथ र बीपी राजमार्ग पनि पहिरोका कारण बन्द भएका छन्। तीनवटै मुख्य सडक अवरुद्ध भएपछि काठमाडौँ उपत्यका भित्रिने र बाहिरिने यातायात पूर्णरूपमा प्रभावित भएको प्रहरीले जनाएको छ।