न्यूयोर्क । प्रधानमन्त्री बालेन शाह र संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसबीच बिहीबार भेटवार्ता भएको छ।
संयुक्त राष्ट्रसंघको ८१औँ महासभाको उच्चस्तरीय सप्ताहमा सहभागी हुन न्यूयोर्क पुगेका प्रधानमन्त्री शाहले महासभालाई सम्बोधन गर्नुअघि राष्ट्रसंघको मुख्यालयमा महासचिव गुटेरेससँग भेटवार्ता गरेका हुन्। स्थानीय समयअनुसार साँझ ६ः३० बजे भएको भेट नेपाली समयअनुसार शुक्रबार बिहान ४ः१५ बजे भएको हो।
भेटका क्रममा महासचिव गुटेरेसले भोटेकोशी विपद्बाट भएको जनधनको क्षतिप्रति गहिरो समवेदना व्यक्त गर्दै जलवायु परिवर्तनका विषयमा संयुक्त राष्ट्रसंघ नेपालसँगै रहेको बताएका थिए।
गुटेरेसले नेपाली युवा प्रतिनिधिमण्डलको समेत प्रशंसा गरेका थिए। आफू सन् १९७८ मा पर्यटकका रूपमा नेपाल आएको स्मरण गर्दै उनले पदबाट निवृत्त भएपछि पनि नेपाललाई सहयोग गरिरहने प्रतिबद्धता व्यक्त गरे।
प्रधानमन्त्री शाहले नेपालप्रति देखाएको सद्भाव र सहयोगका लागि गुटेरेसलाई धन्यवाद दिँदै उनको सफल कार्यकालका लागि शुभकामना दिएका थिए।
भेटमा प्रधानमन्त्री शाहले भोटेकोशी विपद्बाट नेपालले ठूलो क्षति बेहोर्नुपरेको जानकारी गराउँदै हिमताल फुट्ने जोखिम अझै उच्च रहेको बताएका थिए।
त्यसक्रममा नदी किनारमा बसोबास गर्ने नागरिकको पुनर्वास तथा हरित पुनर्निर्माणका विषयमा पनि छलफल भएको थियो।
यस्तै, अतिकम विकसित राष्ट्र (एलडीसी) को सूचीबाट नेपालको स्तरोन्नतिको समयसीमा थप गर्नुपर्ने विषयमा संयुक्त राष्ट्रसंघको समर्थनका बारेमा समेत छलफल भएको जनाइएको छ।