बिहिबार, कार्तिक १२ २०८३

बिहिबार, कार्तिक १२ २०८३

नक्कली शैक्षिक प्रमाणपत्र पेश गरी सरकारी सेवामा कार्यरत यादवविरुद्ध मुद्दा

बिहिबार, असोज ८ २०८३

काठमाडौं । रौतहटको माधव नारायण नगरपालिकामा सामाजिक परिचालक (सहायक स्तर पाँचौँ) पदमा कार्यरत कृष्ण नन्दन प्रसाद यादवविरुद्ध नक्कली शैक्षिक प्रमाणपत्र पेश गरी सरकारी सेवामा प्रवेश गरेको आरोपमा विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरिएको छ।

अनुसन्धानका क्रममा यादवले जिल्ला विकास समिति, रौतहटको स्थानीय ट्रष्ट कोष समितिमा सामाजिक परिचालक (सहायक स्तर पाँचौँ) पदमा नियुक्ति लिने क्रममा विहार इन्टरनेशनल एजुकेशन काउन्सिल पटनाबाट जारी भएको देखिने आई.ए. तहको झुट्टा तथा नक्कली शैक्षिक प्रमाणपत्र पेश गरेको पाइएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जनाएको छ।

आयोगका अनुसार उक्त प्रमाणपत्रका आधारमा यादव हालसम्म राष्ट्रसेवकको हैसियतमा कार्यरत रही ओहोदा, लाभ तथा सुविधासमेत प्राप्त गरेको देखिएको छ।

उजुरीका आधारमा गरिएको अनुसन्धानबाट यादवले साविक भ्रष्टाचार निवारण ऐन, २०१७ को दफा १२ तथा प्रचलित भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६(१) बमोजिमको कसुर गरेको पुष्टि भएको आयोगको दाबी छ।

आयोगले यादवलाई साविक भ्रष्टाचार निवारण ऐन, २०१७ को दफा १२ तथा दफा २९(२) र प्रचलित भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६(१) बमोजिम कैद तथा जरिवाना सजायको मागदाबी गर्दै विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरेको हो।

प्रवक्ता सुरेश न्यौपानेका अनुसार आरोपपत्र आज विशेष अदालतमा दायर गरिएको हो।