बुधबार, कार्तिक ११ २०८३

बुधबार, कार्तिक ११ २०८३

भारी वर्षाको जोखिमपछि विराटनगरका विद्यालय दुई दिन बन्द

बिहिबार, असोज ८ २०८३

विराटनगर । अविरल वर्षाका कारण सम्भावित विपद्को जोखिम बढेपछि विराटनगर महानगरपालिकाले महानगर क्षेत्रका विद्यालय दुई दिनका लागि बन्द गर्ने निर्णय गरेको छ।

महानगरपालिकाको शैक्षिक प्रशासन महाशाखाले सूचना जारी गर्दै आज र भोलि महानगर क्षेत्रका विद्यालयमा पठनपाठन बन्द रहने जनाएको हो।

जल तथा मौसम विज्ञान विभागले असोज ८ देखि ११ गतेसम्म देशका विभिन्न स्थानमा भारीदेखि अति भारी वर्षा हुनसक्ने पूर्वानुमान गरेको छ। वर्षाका कारण नदी तथा खोलामा पानीको बहाव बढ्नुका साथै बस्ती तथा सडकमा डुबान र बाटोघाटो अवरुद्ध हुनसक्ने सम्भावनालाई मध्यनजर गर्दै विद्यालय बन्द गर्ने निर्णय गरिएको महानगरपालिकाले जनाएको छ।

महानगरपालिकाले विद्यार्थी, शिक्षक तथा सर्वसाधारणको सुरक्षालाई प्राथमिकतामा राखेर विद्यालय बन्द गरिएको स्पष्ट पारेको छ।

सम्भावित विपद्को अवस्था सिर्जना भए सुरक्षित विद्यालय भवनलाई आवश्यकताअनुसार अस्थायी आश्रयस्थलका रूपमा प्रयोग गर्न सकिने गरी तयारी अवस्थामा राख्न पनि महानगरपालिकाले विद्यालय प्रशासनलाई आग्रह गरेको छ।

यसअघि पोखरा महानगरपालिकाले समेत भारी वर्षाबाट हुनसक्ने सम्भावित जोखिमलाई ध्यानमा राख्दै विद्यालयमा दुई दिन स्थानीय बिदा दिने निर्णय गरेको थियो।