बिहिबार, कार्तिक १२ २०८३

बिहिबार, कार्तिक १२ २०८३

सीलाई स्वागत गर्न विमानस्थलमै पुगे ट्रम्प, भने- सी ‘अद्भुत व्यक्ति’

बिहिबार, असोज ८ २०८३

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चिनियाँ राष्ट्रपति सी चिनफिङलाई विमानस्थलमै पुगेर औपचारिक स्वागत गरेका छन्। तीनदिने राजकीय भ्रमणका क्रममा अमेरिका पुगेका सीलाई ट्रम्पले ‘जोइन्ट बेस एन्ड्र्युज’ मा पुगेर स्वागत गरेका हुन्।

सी र उनकी पत्नी पेङ लियुआनलाई स्वागत गर्न ट्रम्प र प्रथम महिला मेलानिया ट्रम्प धावनमार्गमै पुगेका थिए। स्वागतका लागि रातो कार्पेट बिछ्याइएको थियो। विमानबाट ओर्लिएपछि दुवै नेताले आफ्ना पत्नीको उपस्थितिमा एकअर्कासँग हात मिलाएका थिए।

चिनियाँ राष्ट्रपतिको स्वागतका क्रममा दुई बी–१ बमवर्षक विमानले आकाशमा फ्लाई–ओभरसमेत गरेका थिए। कार्यक्रममा अमेरिका र चीनका झन्डा प्रदर्शन गरिनुका साथै अमेरिकी वायुसेनाको ब्यान्डले दुवै देशका राष्ट्रिय गान बजाएको थियो। औपचारिक स्वागतपछि ट्रम्प र सी छुट्टाछुट्टै वासिङ्टन डीसीतर्फ लागेका थिए।

विदेशी राष्ट्रप्रमुखलाई वासिङ्टन क्षेत्रकै विमानस्थलमा पुगेर अमेरिकी राष्ट्रपतिले स्वागत गर्ने प्रचलन पछिल्ला वर्षमा निकै दुर्लभ मानिन्छ।

ऐतिहासिक अभिलेखअनुसार सन् १९६२ मा तत्कालीन अमेरिकी राष्ट्रपति जोन एफ. केनेडीले एन्ड्र्युज एयर फोर्स बेसमा बेलायती प्रधानमन्त्री ह्यारोल्ड म्याकमिलन र साउदी राजा साउदको स्वागत गरेका थिए।

त्यसैले सीलाई स्वागत गर्न ट्रम्प स्वयं विमानस्थल पुग्नुलाई पछिल्ला दशकमा असामान्य मानिएको राष्ट्रपतीय स्वागतका रूपमा हेरिएको छ।

सीको तीनदिने राजकीय भ्रमणका क्रममा अमेरिका र चीनबीच व्यापार, कृत्रिम बुद्धिमत्ता, सुरक्षा तथा ताइवानलगायत विषयमा उच्चस्तरीय छलफल हुने बताइएको छ।

यो भ्रमणका क्रममा ट्रम्प र सीबीच तेस्रो प्रत्यक्ष भेटवार्ता हुँदैछ। यसअघि उनीहरूले मे महिनामा चीनमा भेटवार्ता गरेका थिए।

त्यस अवसरमा सीले बेइजिङस्थित ‘ग्रेट हल अफ द पिपुल’मा ट्रम्पलाई तोपको सलामी तथा अमेरिकी राष्ट्रिय गानसहित औपचारिक स्वागत गरेका थिए। चीनले २०० वटा बोइङ विमान खरिद गर्ने तथा अमेरिकी कृषकलाई चिनियाँ बजारमा थप पहुँच दिने प्रतिबद्धता जनाए पनि उक्त भेटवार्ताबाट अपेक्षाकृत ठोस परिणाम नआएको विश्लेषण गरिएको थियो।

‘ब्रुकिङ्स इन्स्टिच्युट’सँगको कुराकानीमा विश्लेषक प्याटी किमले पनि उक्त भ्रमणबाट ठोस प्रतिबद्धता हासिल गर्ने दृष्टिले परिणाम कमजोर रहेको बताएकी थिइन्।

उनका अनुसार वार्ताअघि ताइवानसम्बन्धी अमेरिकी नीतिमा ट्रम्पले परिवर्तन गर्न सक्ने विषयमा चिनियाँ पक्षको विशेष चासो थियो। तर त्यस्तो नीति परिवर्तन भएन। यद्यपि, सम्मेलनपछि ट्रम्पले फक्स न्युजसँगको अन्तर्वार्तामा ताइवानलाई चीनबाट औपचारिक स्वतन्त्रता घोषणा नगर्न चेतावनी दिएका थिए।

चीन भ्रमणपछि ट्रम्पले सीको खुलेर प्रशंसा गरेका थिए। एयर फोर्स वनमा पत्रकारहरूसँग कुरा गर्दै उनले सीलाई ‘अद्भुत व्यक्ति’ भन्दै अमेरिका–चीन सम्बन्ध राम्रो रहेको बताएका थिए।

ट्रम्पले भ्रमणका क्रममा व्यापारसम्बन्धी धेरै सम्झौता भएको दाबीसमेत गरेका थिए।

यसैबीच, अमेरिकी अर्थमन्त्री स्कट बेसेन्टले अमेरिका–चीनबीच जारी व्यापारिक युद्धविरामलाई जनवरी १० सम्म लम्ब्याउने सहमति भएको बताएका छन्।

चिनियाँ उपप्रधानमन्त्री हे लिफेङसँगको भेटपछि फक्स न्युजसँग कुरा गर्दै बेसेन्टले नोभेम्बर १० मा समाप्त हुने भनिएको ‘बुसान सम्झौता’ थप दुई महिना लम्ब्याउने सहमति भएको जानकारी दिएका हुन्।

सीको अमेरिका भ्रमणलाई दुई मुलुकबीच व्यापारिक तनाव व्यवस्थापन, सुरक्षा तथा ताइवानलगायत संवेदनशील विषयमा उच्चस्तरीय संवादको निरन्तरताका रूपमा हेरिएको छ।