काठमाडौँ । सङ्घीय संसद्का प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज बस्दैछ। प्रतिनिधिसभाको बैठक बिहान ११ बजे सिंहदरबारमा बस्नेछ।
प्रतिनिधिसभाको बैठकमा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले ‘निःशुल्क कानुनी सहायतासम्बन्धी विधेयक, २०८३’ प्रस्तुत गर्ने सम्भावित कार्यसूची रहेको छ। त्यसैगरी, पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले ‘फोहोरमैला व्यवस्थापन विधेयक, २०८३ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यक्रम छ।
राष्ट्रियसभामा लोक सेवा आयोगको वार्षिक प्रतिवेदन पेस हुने
राष्ट्रियसभाको बैठक अपराह्न १ः१५ बजे बस्नेछ। बैठकको प्रारम्भमा राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहालले राष्ट्रपतिको कार्यालयबाट प्राप्त पत्रको बेहोरा जानकारी गराउने कार्यसूची रहेको छ।
त्यसपछि स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालय र उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयसँग सम्बन्धित मौखिक प्रश्नको सम्बन्धित मन्त्रीले उत्तर दिने कार्यक्रम छ।
प्रधानमन्त्री वालेन्द्र शाहका तर्फबाट अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले लोक सेवा आयोगको आर्थिक वर्ष २०८१/८२ को वार्षिक प्रतिवेदन सभासमक्ष पेस गर्ने कार्यसूची रहेको छ।
त्यस्तै, विकास, आर्थिक मामिला तथा सुशासन समितिका सभापति कृष्णप्रसाद पौडेलले ‘विकास, आर्थिक मामिला तथा सुशासन समितिको आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदन’ सभासमक्ष पेस गर्नेछन्।
पाँच संसदीय समितिको बैठक बस्दै
यसैबीच, आज सङ्घीय संसद्का विभिन्न पाँच संसदीय समितिको बैठकसमेत बस्ने भएको छ।
निर्धारित कार्यक्रमअनुसार कृषि तथा प्राकृतिक स्रोत समिति, राज्य व्यवस्था तथा सुशासन समिति, शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति, विकास, आर्थिक मामिला तथा सुशासन समिति र संसदीय सुनुवाइ समितिको बैठक बस्नेछ।