बिहिबार, कार्तिक १२ २०८३

बिहिबार, कार्तिक १२ २०८३

शुक्रबारदेखि वर्षा बढ्ने, रातिको यात्रा नगर्न यातायात व्यवसायीको आग्रह

बुधबार, असोज ७ २०८३

काठमाडौँ । बंगालको खाडीमा विकसित न्यूनचापीय प्रणाली थप शक्तिशाली बन्दै नेपालतर्फ सर्ने क्रममा रहेकाले शुक्रबारदेखि आइतबारसम्म देशका अधिकांश भूभागमा वर्षाको गतिविधि बढ्ने भएको छ।

मौसम विज्ञान विभागका अनुसार उक्त मौसमी प्रणालीको प्रभावले गण्डकी र लुम्बिनी प्रदेशका अधिकांश भूभागमा भारीदेखि धेरै भारी वर्षा तथा एक–दुई स्थानमा अति भारी वर्षा हुनसक्ने सम्भावना रहेको छ।

विभागका अनुसार कोशी, मधेस, बागमती र सुदूरपश्चिम प्रदेशका केही स्थानमा पनि भारी वर्षाको सम्भावना रहेको छ। कर्णाली प्रदेशका केही भूभागमा समेत भीषण वर्षा हुनसक्ने आकलन गरिएको छ। देशका अधिकांश स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा हुने सम्भावना रहेको विभागले जनाएको छ।

वर्षासँगै मेघगर्जन, चट्याङ र हावाहुरीसमेत आउनसक्ने भएकाले बाढी, पहिरो, गेग्रान बहाव तथा डुबानको जोखिम बढ्न सक्ने विभागले जनाएको छ। सम्भावित जोखिमलाई ध्यानमा राख्दै सम्बन्धित निकायले आवश्यक पूर्वतयारी तथा सतर्कता अपनाउन आग्रह गरेका छन्।

४२ जिल्ला ‘सुन्तला’ संकेतमा
सम्भावित वर्षा र त्यसबाट उत्पन्न हुनसक्ने विपद्को जोखिमलाई ध्यानमा राख्दै विभागले मधेस प्रदेशबाहेक ६ प्रदेशका ४२ जिल्लालाई ‘सुन्तला’ संकेतमा राखेको छ।

गण्डकी प्रदेशका सबै ११ जिल्ला ‘सुन्तला’ संकेतमा रहेका छन्। त्यस्तै, लुम्बिनी प्रदेशका १२ जिल्लामध्ये रोल्पा, बाँके र बर्दियाबाहेक अधिकांश जिल्ला पनि ‘सुन्तला’ संकेतमा परेका छन्।

यसैगरी ३५ जिल्लालाई ‘पहेँलो’ संकेत दिइएको छ। पहेँलो संकेतलाई वर्षा नहुने अवस्था भनेर बुझ्न नहुने मौसमविद्हरूले बताउनुभएको छ। ती क्षेत्रमा पनि वर्षाको सम्भावना रहेकाले मौसमको अवस्था हेरी आवश्यक सावधानी अपनाउन उहाँहरूले सुझाव दिएका छन्।

विभागका अनुसार कुनै निश्चित स्थान वा ठूलो भूभागमा एकैपटक अत्यधिक वर्षाको सम्भावना बढेमा चेतावनीको स्तर थप बढाउन सकिनेछ। हाल मौसमी प्रणालीको निरन्तर निगरानी भइरहेको विभागले जनाएको छ।

गण्डकी प्रदेशका सबै जिल्लामा वर्षाको प्रभाव देखिनसक्ने भएकाले पहाडी सडक, नदी तथा खोलानाला आसपासका बस्ती र पहिरोको जोखिम भएका क्षेत्रमा विशेष सतर्कता अपनाउन आग्रह गरिएको छ।

लुम्बिनी प्रदेशमा पनि अधिकांश भूभागमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना रहेको छ। दाङदेखि पूर्वतर्फ नवलपुरसम्मका भूभागमा समेत मौसमी प्रणालीको प्रभाव देखिन सक्ने विभागले जनाएको छ।

कर्णालीको पूर्वी भूभाग तथा सुदूरपश्चिमका दक्षिणी पहाडी र तराई क्षेत्रसमेत वर्षाबाट प्रभावित हुनसक्ने अनुमान गरिएको छ।

रातिको यात्रा नगर्न यातायात व्यवसायीको आग्रह
सम्भावित भारी वर्षालाई ध्यानमा राख्दै नेपाल राष्ट्रिय यातायात व्यवसायी महासंघले बिहीबारदेखि १२ असोजसम्म लामो दूरीको यात्रा गर्दा विशेष सावधानी अपनाउन आग्रह गरेको छ।

महासंघले विज्ञप्ति जारी गर्दै यातायात सेवा सञ्चालन गर्नुअघि सडकको अवस्था र मौसमबारे अनिवार्य जानकारी लिन आफ्ना सदस्यहरूलाई आग्रह गरेको छ। साथै अत्यावश्यक नपरेसम्म टाढाको यात्रा नगर्न र रातिको समयमा यात्रा नगर्न सर्वसाधारणलाई समेत आग्रह गरिएको छ।

यसअघि राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले पनि सम्भावित विपद्को जोखिमलाई ध्यानमा राख्दै सरोकारवाला निकायलाई आवश्यक पूर्वतयारी तथा सावधानी अपनाउन आग्रह गरिसकेको थियो।

अविरल वर्षाका कारण सडकमा बाढी, पहिरो तथा गेग्रान बहावको जोखिम बढ्नसक्ने भएकाले यात्रा गर्नुअघि मौसम र सडकको अवस्थाबारे जानकारी लिन तथा जोखिमयुक्त क्षेत्रमा विशेष सतर्कता अपनाउन सम्बन्धित निकायले आग्रह गरेका छन्।