बिहिबार, कार्तिक १२ २०८३

बिहिबार, कार्तिक १२ २०८३

प्रतिनिधिसभाको बैठक बस्दै, यस्ता छन् एजेण्डा

मंगलबार, असोज ६ २०८३

काठमाडौँ । सङ्घीय संसद्, प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक अपराह्न १ः०० बजे बस्नेछ ।

बैठकमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले ‘नागरिक लगानी कोष (तेस्रो संशोधन) विधेयक, २०८३ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको छ ।

यसैगरी, आज सङ्घीय संसद्अन्तर्गतका चार वटा संसदीय समितिको बैठक पनि बस्दैछ ।

सङ्घीय संसद् सचिवालयका अनुसार बिहान १०ः०० बजे बस्ने अर्थसमितिको बैठकमा ‘अर्थसम्बन्धी केही नेपाल कानुनलाई संशोधन र खारेज गर्न बनेको विधेयक’माथि सैद्धान्तिक छलफल हुनेछ । बैठकमा विधेयकमाथि संशोधन प्रस्ताव दर्ता गराएका सांसदहरूसँग छलफल गरिनेछ ।

शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक पनि बिहान १०ः०० बजे बस्नेछ । बैठकमा ‘राष्ट्रिय विधि विज्ञान प्रयोगशाला (स्थापना र सञ्चालन) विधेयक, २०८१’को मस्यौदा प्रतिवेदनमाथि छलफल हुनेछ ।

विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठक बिहान ११ः१५ बजे बस्नेछ । बैठकमा नेपालमा स्वदेशी तथा वैदेशिक एवं निजी तथा सार्वजनिक लगानीको अवस्था, जलवायु परिवर्तनको असर र लगानीको वातावरणमा परेको प्रभाव, राष्ट्रिय तथा प्रादेशिकस्तरमा आयोजना हुने लगानी सम्मेलनको व्यवस्थापन तथा लगानीमैत्री वातावरण निर्माणका लागि आवश्यक नीतिगत र कानुनी सुधारलगायतका विषयमा छलफल गरिनेछ ।

त्यस्तै, सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठक बिहान ११ः३० बजे बस्नेछ । बैठकमा ‘पुस्तकालय नीति’को मस्यौदाका सम्बन्धमा विज्ञहरूसँग छलफल गरिनेछ ।