बिहिबार, कार्तिक १२ २०८३

बिहिबार, कार्तिक १२ २०८३

डाटा सेन्टरमा प्राविधिक समस्या, नेप्सेको नियमित कारोबार स्थगित

सोमबार, असोज ५ २०८३

नेपाल स्टक एक्सचेन्ज (नेप्से) लिमिटेडका ७२ वटा कारोबार सदस्य कम्पनीका सर्भर राखिएको डाटा सेन्टरमा प्राविधिक समस्या आएपछि आजको नियमित शेयर कारोबार स्थगित गरिएको छ।

नेप्सेले जारी गरेको सूचनाअनुसार कारोबार सदस्य कम्पनीहरूको सर्भर रहेको डाटा हब प्रालि. मा असोज चार गते बिहानदेखि प्राविधिक समस्या देखिएको हो । समस्या समाधानका लागि पहल भइरहेको भए पनि हालसम्म पूर्णरूपमा समाधान हुन नसकेको नेप्सेले जनाएको छ।

डाटा सेन्टरमा देखिएको समस्याका कारण कारोबार सदस्य कम्पनीहरूको कारोबार प्रणालीमा समेत असर परेको र यस अवस्थामा नियमित कारोबार सञ्चालन गर्न नसकिने जानकारी प्राप्त भएको नेप्सेको सूचनामा उल्लेख छ । यसै कारण नेपाल स्टक एक्सचेन्ज लिमिटेडको धितोपत्र सूचीकरण तथा कारोबार नियमावली, २०७५ को नियम २९(१) अनुसार आज मिति २०८२/०६/०५ गतेको नियमित कारोबार स्थगित गर्ने निर्णय गरिएको नेप्सेले जनाएको छ।

नेप्सेका अनुसार डाटा सेन्टरमा उत्पन्न प्राविधिक समस्या समाधान गरी कारोबार प्रणालीलाई नियमित अवस्थामा ल्याउन आवश्यक पहल भइरहेको छ । समस्या समाधान भएपछि आगामी कारोबारसम्बन्धी जानकारी गराइने जनाइएको छ । यसअघि पनि प्राविधिक समस्या देखिएपछि कारोबार प्रभावित हुँदै आएको अवस्थामा ७२ कारोबार सदस्य कम्पनीका सर्भर नै प्रभावित भएपछि नेप्सेले आजको सम्पूर्ण नियमित कारोबार स्थगित गर्ने निर्णय गरेको हो।