बिहिबार, कार्तिक १२ २०८३

बिहिबार, कार्तिक १२ २०८३

वसन्तपुरमा इन्द्रजात्राको तयारी अन्तिम चरणमा

सोमबार, असोज ५ २०८३

काठमाडौँ । विश्व सम्पदा सूचीमा सूचीकृत ऐतिहासिक वसन्तपुर दरबार क्षेत्रमा इन्द्रजात्राको तयारी अन्तिम चरणमा पुगेको छ। जात्राका लागि रथ निर्माण, सरसफाइ, सम्पदा क्षेत्रको रङरोगन तथा आवश्यक व्यवस्थापनका काम तीव्र गतिमा भइरहेका छन्।

दरबार क्षेत्रमा रहेका काष्ठमण्डप, कुमारी घर, शिव–पार्वती मन्दिरलगायत सम्पदामा रङरोगन गर्ने तथा रातो ध्वजा फेर्ने काम भइरहेको छ। इन्द्रजात्रा व्यवस्थापन समितिका अध्यक्ष गौतमरत्न शाक्यका अनुसार जात्राका लागि आवश्यक अधिकांश तयारी पूरा भइसकेको छ।

उहाँका अनुसार इन्द्रजात्रालाई व्यवस्थित र भव्य रूपमा सञ्चालन गर्न समितिसँग ३१ गुठी खलः आबद्ध छन्। जात्रा व्यवस्थापनका विषयमा गुठी खलःसँग पटक–पटक छलफल भइसकेको तथा शान्ति सुरक्षाका लागि नेपाल प्रहरीसँग समेत समन्वय गरिएको छ।

‘‘इन्द्रजात्रा राष्ट्रिय पर्व भएकाले जात्रा अवलोकन गर्न ठूलो सङ्ख्यामा अन्तर्राष्ट्रिय पर्यटक आउने गरेका छन्। उहाँहरूको सहजताका लागि आवश्यक व्यवस्थापन गरेका छौँ,’’ अध्यक्ष शाक्यले भन्नुभयो, ‘‘जात्राका लागि आवश्यक तयारी तीव्र गतिमा अघि बढिरहेको छ।’’

विशेषगरी नेवार समुदायमा विशेष महत्त्व राख्ने इन्द्रजात्रा काठमाडौँ उपत्यकासहित ललितपुर, भक्तपुर, धुलिखेल र दोलखालगायत स्थानमा परम्परागत रूपमा मनाइन्छ। जात्राका क्रममा हनुमानढोकामा इन्द्रध्वजासहितको लिङ्गो ठड्याउने गरिन्छ। लिङ्गो ठड्याउने धार्मिक विधिलाई ‘इन्द्रध्वजोत्थान’ भनिन्छ भने लिङ्गोको फेदमा भैरवको पूजा गर्ने परम्परा छ।

धार्मिक तथा सांस्कृतिक मान्यताअनुसार शत्रुमाथि विजय प्राप्त गरेपछिको उत्सवका रूपमा इन्द्रजात्रा मनाउने गरिन्छ। इन्द्रध्वजको पूजा गरी शक्ति प्राप्त गर्ने र त्यसको प्रदर्शन गर्ने पर्वका रूपमा पनि इन्द्रजात्राको विशेष महत्त्व रहेको छ।

इन्द्रजात्राको अवसरमा हनुमानढोकास्थित गद्दी बैठकबाट राष्ट्रपतिले जीवित देवीका रूपमा पुजिने श्रीकुमारी, श्रीगणेश र श्रीभैरवको रथयात्रा अवलोकन गर्ने परम्परा छ।

इन्द्रध्वजासहितको लिङ्गो ठड्याएपछि सुरु हुने जात्रामा विभिन्न परम्परागत नाच तथा सांस्कृतिक प्रदर्शन गरिन्छ। भक्कुनाच, महाकाली नाच, लाखेनाच, दशअवतार र देवराज इन्द्रको वाहन ऐरावत हात्तीको प्रतीक मानिने पुलुकिसी नाच इन्द्रजात्राका प्रमुख आकर्षण हुन्।

लिङ्गो ठड्याइएको आठौँ दिन अर्थात् आश्विन कृष्ण चौथीका दिन इन्द्रध्वज पातन गरेपछि इन्द्रजात्रा विधिवत् रूपमा समापन गर्ने परम्परा रहेको अध्यक्ष शाक्यले बताउनुभयो।