काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेल संविधान दिवस तथा राष्ट्रिय दिवसका अवसरमा शुक्रबार सैनिक मञ्च टुँडिखेलमा आयोजित विशेष समारोहमा सहभागी भएका छन्।
समारोहमा नेपाली सेनाले राष्ट्रपति पौडेललाई सम्मानस्वरूप सलामी अर्पण गरेको थियो। नेपाली सेना, सशस्त्र प्रहरी बल नेपाल र नेपाल प्रहरीले मार्चपास तथा ब्याण्ड प्रदर्शन गरेका थिए।
समारोहका क्रममा सैनिक हेलिकप्टरबाट ‘संविधान दिवस तथा राष्ट्रिय दिवस २०८३’ लेखिएको ब्यानरसमेत प्रदर्शन गरिएको थियो।
संविधान दिवस तथा राष्ट्रिय दिवस मूल समारोह समितिले आयोजना गरेको कार्यक्रममा उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री वालेन्द्र शाह, प्रधानन्यायाधीश डा. मनोजकुमार शर्मा, सभामुख डोलप्रसाद अर्याल, राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहाललगायत सहभागी थिए।
त्यस्तै सुरक्षा निकायका प्रमुख, नेपाल सरकारका विशिष्ट पदाधिकारी, कूटनीतिक नियोगका प्रतिनिधि तथा अन्य विशिष्ट व्यक्तिहरूको पनि समारोहमा उपस्थिति रहेको थियो।