शुक्रबार, भाद्र २६ २०८३

शुक्रबार, भाद्र २६ २०८३

भोटेकोशी बाढीपछि उद्योग व्यवसायमा ठूलो क्षति

बाढीले १ हजार ८ सयभन्दा बढी उद्योग–व्यवसाय ध्वस्त, व्यवसायीले मागे ३ वर्ष ऋण नवीकरण

बिहिबार, भाद्र २५ २०८३

काठमाडौं । भोटेकोशीमा आएको विनाशकारी बाढीका कारण भोटेकोशी–त्रिशूली करिडोरका उद्योग, व्यापार तथा व्यवसाय क्षेत्रमा ठूलो भौतिक र आर्थिक क्षति पुगेको छ। नुवाकोटमा मात्रै साना तथा ठूला गरी १ हजार ८ सयभन्दा बढी उद्योग तथा व्यवसाय पूर्ण रूपमा क्षतिग्रस्त भएको भन्दै व्यवसायीले तत्काल राहत तथा पुनरुत्थानका कार्यक्रम ल्याउन सरकारसँग माग गरेका छन्।

नेपाल उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष चन्द्रप्रसाद ढकालसहितको सहभागितामा भएको छलफलमा बाढीपीडित व्यवसायीहरूले तत्काल व्यवसाय सञ्चालन गर्न सक्ने वातावरण बनाउन सरकारसँग आग्रह गरेका हुन्।

बाढीबाट क्षति पुगेका अधिकांश उद्योग तथा व्यवसाय बैंक तथा वित्तीय संस्थाबाट ऋण लिएर सञ्चालनमा रहेकाले आफूहरू थप आर्थिक संकटमा परेको व्यवसायीको भनाइ छ। उनीहरूले बैंक तथा वित्तीय संस्थाबाट लिएको ऋण  कम्तीमा तीन वर्षका लागि नवीकरण  गर्नुपर्ने र बीमा दाबीको रकम झन्झटरहित ढंगले तत्काल भुक्तानी गर्नुपर्ने माग गरेका छन्।

व्यवसायीहरूले निजी क्षेत्रका समस्यालाई सरकारसमक्ष प्रभावकारी रूपमा पुर्‍याउन नेपाल उद्योग वाणिज्य महासंघमार्फत पहल गर्नसमेत आग्रह गरेका छन्।

‘बाढीपीडित व्यवसायी एक्लै छैनन्’

छलफलमा महासंघका पूर्वअध्यक्ष ढकालले विपद्बाट प्रभावित उद्योगी तथा व्यवसायीको आधारभूत आवश्यकतालाई पहिलो प्राथमिकतामा राखेर काम गर्नुपर्ने बताए।

उनले विपद्को समयमा राजनीतिक दल, सरकार र निजी क्षेत्र सबै मिलेर खोज, उद्धार तथा राहतको काम अघि बढाउनुपर्नेमा जोड दिए। बाढी प्रभावित व्यवसायीको साथमा महासंघ रहेको उल्लेख गर्दै उनले पुनरुत्थानका लागि आवश्यक पहल गर्ने प्रतिबद्धता जनाए।

ढकालले प्रभावित व्यवसायीको  ऋण तथा बीमासम्बन्धी समस्या समाधानका लागि नेपाल राष्ट्र बैंकका गभर्नर र अर्थमन्त्रीसँग पहल गर्ने  बताए।

उनका अनुसार तत्काल सम्पर्कविहीन आफन्तको खोजी, राहत तथा गाँस, बास र कपडाजस्ता आधारभूत आवश्यकताको समस्या समाधान गर्नुपर्नेछ। त्यसपछि मात्रै बैंक ऋण र बीमालगायत व्यवसाय पुनः सञ्चालनका विषयलाई प्राथमिकतामा राखेर अघि बढ्नुपर्ने उनको भनाइ छ।

सरकारको पुनरुत्थान प्याकेजप्रति नाडाको स्वागत

यसैबीच, भोटेकोशी बाढीबाट प्रभावित उद्योग, व्यापार तथा व्यवसायको पुनरुत्थानका लागि सरकारले गरेको निर्णयको नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालले स्वागत गरेको छ।

सरकारले बाढी प्रभावित निजी क्षेत्रलाई लक्षित गर्दै  भन्सार तथा कर छुट, कर्जा पुनर्संरचना तथा पुनर्तालिकीकरण, ब्याजदरमा सहुलियत, थप कर्जाको व्यवस्था र बीमा दाबी भुक्तानी सहज बनाउने  निर्णय गरेको थियो।

विपद्बाट प्रभावित व्यवसायलाई तत्काल राहत दिँदै पुनः सञ्चालनको वातावरण बनाउन सरकारले लिएको कदम सकारात्मक रहेको नाडाले जनाएको छ।

विशेषगरी बाढीका कारण पूर्ण रूपमा क्षतिग्रस्त वा बगाएर हराएका व्यावसायिक सवारी तथा ढुवानीका साधनको दर्ता खारेज गरी सोही प्रकृतिका साधन पुनः आयात गर्दा  भन्सार महसुल छुट  दिने निर्णयले अटोमोबाइल तथा ढुवानी व्यवसायीलाई राहत पुग्ने नाडाको भनाइ छ।

त्यस्तै, क्षतिग्रस्त मेसिनरी तथा उपकरण पुनः आयातमा दिइएको सहुलियतले व्यवसाय पुनःस्थापनामा सहयोग पुग्ने नाडाले जनाएको छ।

बाढी प्रभावित ऋणीका लागि कर्जा पुनर्संरचना, पुनर्तालिकीकरण र ब्याजमा सहुलियतको व्यवस्थाले तत्कालीन वित्तीय दबाब कम गर्ने तथा क्षतिग्रस्त सवारी र उपकरण पुनः खरिदका लागि कर्जा उपलब्ध गराउने व्यवस्थाले व्यवसायको निरन्तरतामा सहयोग पुग्ने नाडाको निष्कर्ष छ।

नाडाका अध्यक्ष सुरेन्द्रकुमार उप्रेतीले विपद्पछि निजी क्षेत्रलाई पुनः उठाउन सरकारले कर, भन्सार, कर्जा, ब्याज र बीमालाई एकीकृत रूपमा सम्बोधन गर्नु सकारात्मक कदम भएको बताए।

नाडाले सरकारको निर्णय  शीघ्र, सरल र प्रभावकारी रूपमा कार्यान्वयन गर्न सम्बन्धित निकायलाई आग्रह गरेको छ। साथै, वास्तविक क्षतिको अध्ययन गरी आवश्यकताअनुसार दोस्रो चरणको थप पुनरुत्थान प्याकेज ल्याउनसमेत नाडाले माग गरेको छ।