काभ्रेपलाञ्चोक । पृथ्वी राजमार्गअन्तर्गत कृष्णभिरमा केही दिनअघि आएको बाढीका कारण सडक अवरुद्ध भएपछि बिपी राजमार्गमा सवारीसाधनको चाप बढेको छ। सवारी चाप व्यवस्थापन गर्न जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकले आलोपालो प्रणाली लागू गर्दै मालवाहक सवारीसाधन रातिको समयमा मात्रै सञ्चालन गर्ने निर्णय गरेको छ।
जिल्लास्थित सुरक्षा समितिको बैठकले बिपी राजमार्गमा सञ्चालन हुने मालवाहक सवारीसाधनको तौल सीमा निर्धारण गर्दै रातिको समयमा मात्रै सञ्चालन गर्न दिने व्यवस्था गरेको हो। राजमार्गका कतिपय स्थानमा १० टनभन्दा बढी तौलका सवारीसाधन सञ्चालन गर्न कठिन हुने भएकाले तौल सीमा तोकिएको प्रशासनले जनाएको छ।
प्रमुख जिल्ला अधिकारी गोपालकुमार अधिकारीका अनुसार सडकमा जाम हुन नदिन ट्राफिक प्रहरी र जिल्ला प्रशासन कार्यालय सिन्धुलीसँग समन्वय गरी आवश्यक व्यवस्था मिलाइएको छ। धुलिखेलबाट खुर्कोटतर्फ जाने र खुर्कोटबाट धुलिखेलतर्फ आउने मालवाहक सवारीसाधन बाटोमा एकअर्कासँग क्रस नहुने गरी सम्भव भएसम्म समय व्यवस्थापन गरिएको उनले बताए।
यस्तै, दुर्घटनाको उच्च जोखिम रहेका साँघुरा घुम्ती तथा सडक अवरुद्ध हुनसक्ने स्थान पहिचान गरी तत्काल सुधारका काम अघि बढाइने भएको छ। डिभिजन सडक कार्यालय भक्तपुरले जोखिमयुक्त स्थानमा आवश्यक सुधार तथा सडक सञ्चालन सहज बनाउने काम अघि बढाउने जनाएको छ।
ग्यास बुलेटलगायत ठूला मालवाहक सवारीसाधनलाई बिपी राजमार्गअन्तर्गत धुलिखेल–भकुण्डे सडकखण्डमा सुरक्षाकर्मीको उपस्थितिमा मात्रै सञ्चालन गरिने व्यवस्था गरिएको छ।
डिभिजन सडक कार्यालयका प्रमुख सिनियर डिभिजनल इन्जिनियर सुमन योगेशले राजमार्गका जोखिमयुक्त स्थानमा सवारीसाधन सहज रूपमा पार गराउन तथा सडक अवरुद्ध हुन नदिन डोजरलगायत आवश्यक उपकरण तयारी अवस्थामा राखिएको बताए।
उनका अनुसार दुर्घटनाको सम्भावना रहेका साँघुरा घुम्ती तथा अन्य जोखिमयुक्त स्थान पहिचान गरी सम्भव भएसम्मका सुधारका काम तत्काल अघि बढाइनेछ।