बुधबार, कार्तिक ११ २०८३

बुधबार, कार्तिक ११ २०८३

देउवा २८ साउनमा स्वदेश फर्किँदै, विमानस्थलमै भव्य स्वागतको तयारी

आइतबार, साउन २४ २०८३

काठमाडौँ । नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा पूर्वनिर्धारित कार्यतालिकाभन्दा दुई दिन ढिला गरी २८ साउनमा स्वदेश फर्कने भएका छन्। यसअघि २६ साउनमा स्वदेश फर्कने तयारी भए पनि नेता–कार्यकर्ताको आग्रहपछि उनको उडान समय परिवर्तन गरिएको हो।

हाल हङकङमा रहेका देउवा २८ साउन दिउँसो १२ः२५ बजे काठमाडौँ आइपुग्ने कांग्रेस नेता प्रकाशशरण महतले जानकारी दिए। उनका अनुसार देउवा २६ साउनको राति स्वदेश फर्कने तयारीमा थिए। तर, दिउँसो नै विमानस्थलमा उपस्थित भएर स्वागत गर्न पाउनुपर्ने नेता–कार्यकर्ताको आग्रहपछि समय परिवर्तन गरिएको हो।

देउवा स्वदेश फर्किएपछि कांग्रेसले विमानस्थलमै भव्य स्वागत गर्ने तयारी गरेको छ। देउवा पक्षले सामाजिक सञ्जालमार्फत ‘श्रद्धेय नेता शेरबहादुर देउवालाई स्वागत गरौँ’ भन्ने ब्यानरसहित प्रचारप्रसारसमेत थालेको छ। नेता–कार्यकर्तालाई २८ साउन बिहान साढे ११ बजे विमानस्थलमा उपस्थित हुन आह्वान गरिएको छ।

स्वदेश फर्किएको भोलिपल्टै देउवा आफूनिकट राष्ट्रिय कार्यकर्ता भेलामा सहभागी हुनेछन्। भेला आयोजक समितिका संयोजक डा. शशांक कोइरालाका अनुसार देउवाले भेलालाई सम्बोधन गर्नेछन्।

उपचारका लागि गत फागुनमा विदेश गएका देउवा करिब ६ महिनापछि स्वदेश फर्किन लागेका हुन्।

यसैबीच, सर्वोच्च अदालतले कांग्रेस नेतृत्वको आधिकारिकता विवादमा पुनरवलोकनको अनुमति दिएको भोलिपल्ट संस्थापन र इतर दुवै पक्षले पूर्वनिर्धारित कार्यक्रम नरोक्ने घोषणा गरेका छन्। गगन थापा नेतृत्वको संस्थापन पक्षले विशेष महाधिवेशनबाट निर्वाचित नेतृत्वको वैधानिकताको कानुनी प्रतिरक्षा गर्दै तोकिएको समयभित्र महाधिवेशन सम्पन्न गर्ने जनाएको छ।

यता देउवा पक्षले पनि २९ देखि ३१ साउनसम्म आयोजना हुने राष्ट्रिय कार्यकर्ता भेला नरोक्ने बताएको छ।