बुधबार, कार्तिक ११ २०८३

बुधबार, कार्तिक ११ २०८३

कांग्रेस विभाजन रोक्न तेस्रो धारका युवाको विशेष भेला हुँदै

बुधबार, साउन २० २०८३

काठमाडौं । नेपाली कांग्रेसमा देखिएको आन्तरिक विवाद र सम्भावित विभाजन रोक्न तेस्रो धारका युवा नेताहरूको सक्रियतामा आज विशेष भेला हुँदैछ।

कांग्रेसमा शेरबहादुर देउवा पक्षले साउन २९ देखि ३१ गतेसम्म राष्ट्रिय भेला बोलाउने तयारी गरेको तथा संस्थापन पक्षले साउन २४ गते केन्द्रीय कार्यसमिति बैठक बोलाएको अवस्थामा सम्भावित विभाजन रोक्न तेस्रो धारका युवा नेताहरू सक्रिय भएका हुन्।

नैनसिंह महर, रञ्जित कर्णलगायत युवा नेताहरूको सक्रियतामा आयोजना हुन लागेको विशेष भेला बिहान ११ बजे सुकेधारास्थित मिराकल पार्टी भेन्युमा सुरु हुनेछ।

चार दिनअघि तेस्रो धारका नेताहरूले ‘देश र कांग्रेस जोड्ने अभियान’ घोषणा गर्दै साउन २० गते राष्ट्रिय भेला आयोजना गर्ने जानकारी दिएका थिए। पार्टीभित्रको आन्तरिक मतभेद अन्त्य गर्दै संगठनलाई एकताबद्ध र बलियो बनाउने उद्देश्यले अभियान सञ्चालन गरिएको नेता महरले बताए ।

पार्टीभित्र बढ्दो अविश्वास र आन्तरिक किचलोका कारण संगठन कमजोर बन्दै गएको निष्कर्षसहित अभियानमार्फत कांग्रेसलाई वैचारिक तथा सांगठनिक रूपमा पुनर्जीवित गर्ने लक्ष्य राखिएको उनले बताए ।

विशेष भेलामा कांग्रेसको वर्तमान राजनीतिक अवस्था, पार्टीभित्र देखिएको विवाद, सम्भावित विभाजन रोक्ने उपाय तथा संगठनलाई एकताबद्ध बनाएर अघि बढाउने विषयमा छलफल हुने बताइएको छ।