बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधनमा कांग्रेसद्वारा शोक प्रस्ताव पारित

बुधबार, साउन १३ २०८३

काठमाडौं । नेपाली कांग्रेसले वरिष्ठ नेता तथा पूर्वउपप्रधानमन्त्री गोपालमान श्रेष्ठको निधनप्रति गहिरो दुःख व्यक्त गर्दै शोक प्रस्ताव पारित गरेको छ।

पार्टी केन्द्रीय कार्यालय सानेपामा बुधबार बसेको आकस्मिक केन्द्रीय कार्यसमिति बैठकले ७९ वर्षीय श्रेष्ठको निधनप्रति शोक प्रस्ताव पारित गर्दै उहाँप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गरेको हो।

श्रेष्ठको मंगलबार ललितपुरस्थित हेलिस अस्पतालमा उपचारका क्रममा निधन भएको थियो। उनी १२ बुँदे सहमतिका हस्ताक्षरकर्तामध्ये एक प्रभावशाली नेता हुन् ।

उनको पार्थिव शरीर श्रद्धाञ्जलीका लागि नेपाली कांग्रेसको केन्द्रीय कार्यालय सानेपामा राखिएको छ। कांग्रेस सभापति गगनकुमार थापाले पार्टीको झण्डा ओढाएर अन्तिम श्रद्धाञ्जली अर्पण गरेका छन्। श्रेष्ठको अन्त्येष्टि आजै पशुपति आर्यघाटमा गरिने कार्यक्रम रहेको छ।

बैठकले साउन १३, १४ र १५ गतेसम्म पार्टीका केन्द्र, प्रदेश र जिल्ला कार्यालयमा आधा झण्डा झुकाउने निर्णय गरेको कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालले जानकारी दिए ।

यस्तै, साउन १४ गते पार्टीका केन्द्र, प्रदेश र जिल्ला कार्यालय बन्द गर्ने तथा १३ दिनसम्म सबै कार्यालयमा शोक पुस्तिका राख्ने निर्णय पनि गरिएको छ। १३औँ दिन श्रेष्ठको गृहजिल्ला स्याङ्जाको कालीगण्डकीस्थित राम्दीघाटमा अस्तु विसर्जन गरी शोकसभा आयोजना गरिने जनाइएको छ।

लोकतन्त्रको स्थापना, पुनःस्थापना र सुदृढीकरणका लागि भएका विभिन्न आन्दोलनमा सक्रिय भूमिका निर्वाह गरेका श्रेष्ठले विभिन्न आन्दोलनका क्रममा पटक–पटक गरी करिब छ वर्ष जेलजीवन बिताएका थिए ।

उनी विसं २०४८, २०५६ र २०६४ मा स्याङ्जाबाट प्रतिनिधिसभा सदस्य निर्वाचित भएका थिए भने २०७० सालको संविधानसभा निर्वाचनमा समानुपातिक प्रणालीबाट संविधानसभा सदस्य बनेका थिए । उनले उपप्रधानमन्त्रीका साथै भौतिक योजना तथा निर्माण, वन तथा वातावरण, वाणिज्य तथा आपूर्ति तथा शिक्षामन्त्रीको जिम्मेवारी समेत सम्हालेका थिए ।