बुधबार, साउन १३ २०८३

बुधबार, साउन १३ २०८३

नेकपाको नेतृत्वमा कर्णालीमा नयाँ सरकार बन्ने

आइतबार, साउन १० २०८३

सुर्खेत । नेपाल कम्युनिष्ट पार्टी (एमाले) र नेपाल कम्युनिष्ट पार्टी (नेकपा) बीच शनिबार भएको राष्ट्रिय सहमतिपछि कर्णाली प्रदेशमा नेकपाको नेतृत्वमा नयाँ सरकार गठन हुने भएको छ।

एमाले अध्यक्ष केपी शर्मा ओली र नेकपाका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले हस्ताक्षर गरेको राष्ट्रिय सहमतिले प्रदेशस्तरीय सत्ता समीकरणमा पनि परिवर्तन ल्याएको हो। यससँगै यसअघि तय भएको कर्णालीको राजनीतिक समीकरण परिवर्तन हुने निश्चित भएको छ।

कर्णाली प्रदेश सरकारबाट नेपाली कांग्रेसले गत असार ३१ गते समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री यामलाल कँडेल नेतृत्वको सरकार अल्पमतमा परेको थियो। त्यसपछि असार ३२ गते मुख्यमन्त्री कँडेलविरुद्ध प्रदेशसभामा अविश्वास प्रस्ताव दर्ता गरिएको थियो।

नेपाली कांग्रेस संसदीय दलका नेता जीवनबहादुर शाहीको नेतृत्वमा सरकार गठन गर्ने उद्देश्यसहित नेकपाका ११ र कांग्रेसका पाँच गरी १६ प्रदेशसभा सदस्यले संयुक्त रूपमा अविश्वास प्रस्ताव दर्ता गराएका थिए।

अविश्वास प्रस्तावमाथि छलफल गर्न बोलाइएको प्रदेशसभा बैठकलाई सम्बोधन गर्दै मुख्यमन्त्री कँडेलले शनिबार पदबाट राजीनामा दिएका थिए। उनको राजीनामासँगै कर्णालीमा नयाँ सरकार गठनको प्रक्रिया औपचारिक रूपमा अघि बढेको छ।

प्रदेशसभा सभामुख नन्दा गुरुङले कर्णाली प्रदेशसभाको अर्को बैठक साउन १४ गते बिहीबार दिउँसो ३ बजे बस्ने जानकारी दिएका छन्।