मंगलबार, साउन १२ २०८३

मंगलबार, साउन १२ २०८३

माकलबारीमा युवतीको आत्मदाह प्रयास

मंगलबार, साउन ५ २०८३

काठमाडौं । काठमाडौंको गोकर्णेश्वर नगरपालिका–८ माकलबारीमा एक युवतीले पेट्रोल छर्केर आत्मदाह प्रयास गरेकी छन्। घटनामा गम्भीर घाइते भएकी युवतीको कीर्तिपुरस्थित बर्न अस्पतालमा उपचार भइरहेको छ।

जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार काभ्रेपलाञ्चोकको तेमाल गाउँपालिका–३ स्थायी घर भई माकलबारीमा बस्दै आएकी २७ वर्षीया सालु गुरुङले सोमबार राति करिब २:५० बजे आफ्नै खाजा पसलको पछाडिको पार्किङ क्षेत्रमा पेट्रोल छर्केर आगो लगाएकी हुन्।

प्रहरीका अनुसार आगो लगाएको अवस्थामा उनलाई उनका श्रीमान्ले फेला पारेका थिए। तत्काल उद्धार गरी उपचारका लागि शुस्मा कोइराला मेमोरियल अस्पताल, साँखु लगिएको थियो। प्रारम्भिक उपचारपछि थप उपचारका लागि उनलाई कीर्तिपुरस्थित बर्न अस्पताल रिफर गरिएको प्रहरीले जनाएको छ।

घटनामा गुरुङको अनुहार, छाती तथा दुवै हातसहित शरीरको करिब ५० प्रतिशत भाग जलेको छ। उनी हाल सामान्य रूपमा बोल्न सक्ने अवस्थामा रहेको र उपचार जारी रहेको जनाइएको छ।

आत्मदाह प्रयासको कारण अझै खुल्न नसकेको प्रहरीले जनाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी परिसर काठमाडौंले जानकारी दिएको छ।