महेन्द्रनगर । कञ्चनपुरको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जभित्र च्याउ टिप्न गएका र सम्पर्कविहीन भएका १४ महिलाहरू अन्ततः परिवारको सम्पर्कमा आएका छन्। उनीहरू सबै सुरक्षित रहेको पुष्टि भएको छ।
भीमदत्त नगरपालिका–१९ बागफाँटाका महिलाहरू आइतबारदेखि सम्पर्कबाहिर रहेपछि सेना, प्रहरी, सशस्त्र प्रहरी, नगर प्रहरी तथा निकुञ्ज प्रशासनले संयुक्त रूपमा खोजी अभियान सञ्चालन गरेका थिए।
शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज सुरक्षार्थ खटिएको रणसिंह दल गणका गणपति प्रमुख सेनानी प्रकाश घिमिरेका अनुसार व्यापक खोजी अभियानकै क्रममा महिलाहरू परिवारको सम्पर्कमा आएका हुन्।
“सबै संयन्त्र परिचालन गरेर निकुञ्जभित्र खोजीकार्य तीव्र बनाइएको थियो,” प्रमुख सेनानी घिमिरेले भने, “केहीबेरअघि उनीहरू परिवारको सम्पर्कमा आएको र सबै सुरक्षित रहेको जानकारी प्राप्त भएको छ।”
यसअघि आइतबार साँझदेखि निकुञ्जभित्र हराइरहेका बेल्डाँडी गाउँपालिका–२ का तीन जना महिलालाई भने नेपाली सेनाको टोलीले सकुशल उद्धार गरेको थियो। सहसेनानी सुमन जिसीको नेतृत्वमा खटिएको टोलीले उनीहरूलाई फेला पारी सोमबार बिहान परिवारको जिम्मा लगाएको जनाएको छ।
निकुञ्जभित्र अवैध रूपमा च्याउ टिप्न प्रवेश गरेका तीन फरक महिला समूह सम्पर्कविहीन भएपछि सुरक्षाकर्मी र निकुञ्ज प्रशासन खोजीमा जुटेका थिए। सबै महिला सुरक्षित रहेको पुष्टि भएपछि स्थानीयवासी र परिवारजनले राहत महसुस गरेका छन्।