गण्डकी । पोखराका विभिन्न स्थानमा भएका शृङ्खलाबद्ध चोरीका घटनामा संलग्न रहेको आरोपमा चार विदेशी नागरिकसहित नौ जनालाई प्रहरीले पक्राउ गरेको छ।
जिल्ला प्रहरी कार्यालय, कास्कीका अनुसार पक्राउ पर्नेमा भारतीय नागरिक राहुल निषाद र सोमनाथ हनुमन्त जाधव, चिनियाँ नागरिक वेन जिई र वाङ ल्यानयिन रहेका छन्।
त्यसैगरी स्याङ्जाको चापाकोट नगरपालिका–४२ वर्षीय राजकुमार विक, पोखरा महानगरपालिका–१६ का केशव पाइजा मगर, अन्नपूर्ण गाउँपालिका–७ का खिमबहादुर क्षेत्री, अर्घाखाँचीको भूमिकास्थान नगरपालिका–३ का अशोक पोख्रेल तथा बागलुङ नगरपालिका–१२ का अनिल विक पनि पक्राउ परेका छन्।
प्रहरीले उनीहरूको साथबाट नगद रकम, सुनका गरगहना, मोबाइल फोन, ल्यापटप, घडीलगायत चोरीका विभिन्न सामग्री बरामद गरेको जनाएको छ। जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी नायब उपरीक्षक वीरेन्द्रकुमार पासवानका अनुसार केही समययता पोखराका विभिन्न क्षेत्रमा भइरहेका चोरीका घटनाबारे गरिएको सूक्ष्म अनुसन्धानका क्रममा उक्त गिरोहको पहिचान गरी पक्राउ गरिएको हो।
पक्राउ परेका सबैलाई चोरी तथा डाँका सम्बन्धी मुद्दामा कास्की जिल्ला अदालतबाट शुक्रबार म्याद थप गरी थप अनुसन्धान अगाडि बढाइएको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार पछिल्लो समय बढ्दो चोरीका घटनाको अनुसन्धानलाई तीव्र बनाउँदै गएको र संगठित रूपमा अपराधमा संलग्न व्यक्तिहरूमाथि निगरानी तथा कारबाहीलाई निरन्तरता दिइनेछ।