मंगलबार, साउन १२ २०८३

मंगलबार, साउन १२ २०८३

वीरगन्ज भन्सारद्वारा गत आवमा साढे दुई खर्ब राजस्व सङ्कलन

शनिबार, साउन २ २०८३

काठमाडौं । वीरगञ्ज भन्सार कार्यालयले आर्थिक वर्ष २०८२/८३ मा कुल रु दुई खर्ब ४३ अर्ब ८२ करोड राजस्व सङ्कलन गरेको छ। यो कार्यालयलाई दिइएको वार्षिक लक्ष्यको ८९.१९ प्रतिशत मात्र हो।

कार्यालयका सूचना अधिकारी उदयसिंह विष्टका अनुसार गत आर्थिक वर्षका लागि वीरगञ्ज भन्सारलाई रु दुई खर्ब ७३ अर्ब ३७ करोड राजस्व सङ्कलन गर्ने लक्ष्य दिइएको थियो। तर लक्ष्यभन्दा करिब रु २९ अर्ब ५५ करोड कम राजस्व उठेको हो।

भन्सार विभागले गत आर्थिक वर्षमा देशभरका सबै भन्सार कार्यालयबाट रु पाँच खर्ब ८८ अर्ब २५ करोड राजस्व सङ्कलन गर्ने लक्ष्य राखेको थियो। उक्त कुल लक्ष्यमा वीरगञ्ज भन्सार कार्यालयको हिस्सा ४१.४५ प्रतिशत रहेको थियो, जसले यस कार्यालयको राष्ट्रिय राजस्व सङ्कलनमा महत्वपूर्ण योगदान रहेको देखाउँछ।

महिनागत विवरणअनुसार कार्यालयले साउनमा रु १८ अर्ब ४४ करोड, भदौमा रु २० अर्ब ७४ करोड, असोजमा रु १९ अर्ब ९ करोड, कात्तिकमा रु १७ अर्ब ३३ करोड र मङ्सिरमा रु २० अर्ब ८० करोड राजस्व सङ्कलन गरेको थियो।

यस्तै, पुसमा रु २० अर्ब २० करोड, माघमा रु १८ अर्ब ९२ करोड, फागुनमा रु १९ अर्ब ३४ करोड, चैतमा रु २२ अर्ब ८२ करोड, वैशाखमा रु २१ अर्ब ७४ करोड, जेठमा रु २२ अर्ब ३२ करोड तथा असारमा रु २२ अर्ब ४ करोड राजस्व सङ्कलन भएको कार्यालयले जनाएको छ।