काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पार्टी पंक्तिलाई समयअनुकूल सूचना प्रविधि (आईटी) सम्बन्धी पर्याप्त प्रशिक्षण दिन नसक्दा पार्टी डिजिटल प्रतिस्पर्धा र आफूहरूमाथि हुने आक्रमणको सामना गर्न पछि परेको बताएका छन्।
शुक्रबार पार्टीको नयाँ वेबसाइट र मोबाइल एप सार्वजनिक कार्यक्रममा बोल्दै ओलीले अहिलेको आवश्यकतालाई पार्टीले बुझे पनि त्यसअनुसार कार्यकर्ता तयार गर्न नसकिएको स्वीकार गरे।
“हामीले अहिलेको समय चिनेका छौँ। तर, हाम्रो पंक्तिलाई पर्याप्त प्रशिक्षण दिन सकेनौँ। त्यसैले आईटीको जमाना, आईटीको प्रतिस्पर्धा र हामीविरुद्ध हुने हमलाको सामना गर्न पछि परेका हौँ। अब त्यो कमजोरी सुधार्ने दिशामा अघि बढ्छौँ,” उनले भने।
अध्यक्ष ओलीले सूचना प्रविधिमा सक्रिय उपस्थितिका लागि पार्टीको वेबसाइट नियमित रूपमा अद्यावधिक गर्दै निरन्तर सूचना प्रवाह गरिने पनि बताए। उनका अनुसार केवल वेबसाइट र एप सञ्चालनमा ल्याउँदैमा सबै कमजोरी हट्ने नभई पार्टी पंक्तिको क्षमता विकास पनि आवश्यक छ।
उनले विभिन्न माध्यमबाट एमालेलाई अप्ठ्यारोमा पार्ने प्रयास भइरहेको दाबी गर्दै पार्टीसँग पुनर्जागरण र पुनरुत्थान गर्ने पर्याप्त क्षमता रहेको बताए।
एमालेले डिजिटल माध्यमबाट पार्टीका गतिविधि, सूचना र संगठनात्मक कामलाई थप प्रभावकारी बनाउन नयाँ वेबसाइट र मोबाइल एप सार्वजनिक गरेको हो।