काठमाडौं । प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले सीमापार अपराध नियन्त्रणका लागि अन्तर्राष्ट्रिय सहयोग, सूचना आदान–प्रदान र प्रहरी संगठनबीचको साझेदारीलाई अझ सुदृढ बनाउनुपर्ने बताएका छन्।
संयुक्त राष्ट्रसंघको मुख्यालय न्यूयोर्कमा आयोजित पाँचौं संयुक्त राष्ट्रसंघीय प्रहरी प्रमुखहरूको शिखर सम्मेलन (युएनसीओपिएस) मा नेपालको प्रतिनिधित्व गरेर स्वदेश फर्किएपछि सामाजिक सञ्जालमार्फत उनले सम्मेलनमा विश्वभरका प्रहरी संगठनबीच द्विपक्षीय तथा बहुपक्षीय सहकार्य विस्तार, प्रविधिको उपयोग, प्रहरीको क्षमता अभिवृद्धि तथा अन्तरदेशीय अपराध नियन्त्रणका उपायबारे व्यापक छलफल भएको जानकारी दिएका हुन्।
आईजीपी कार्कीले नेपालसहित अन्य मुलुकहरूले पनि अन्तर्राष्ट्रिय समन्वयको आवश्यकता महसुस गरिरहेको उल्लेख गर्दै सूचना आदान–प्रदान, आधुनिक प्रविधिको प्रयोग, अनुसन्धान क्षमता विकास र अन्तरदेशीय अपराध नियन्त्रणका लागि प्रभावकारी साझेदारी अपरिहार्य रहेको बताए।
उनले नेपालले जिम्मेवार साझेदारका रूपमा अन्तर्राष्ट्रिय समुदायसँग निरन्तर सहकार्य गर्दै आएको उल्लेख गर्दै आधुनिक प्रविधिको प्रयोग, अनुसन्धान क्षमता विकास, समुदाय–प्रहरी साझेदारी तथा अन्तर्राष्ट्रिय निकायसँगको सहकार्यलाई अझ प्रभावकारी बनाउने प्रतिबद्धता सम्मेलनमा दोहोर्याएको जानकारी दिए।
कार्कीका अनुसार उक्त सम्मेलन नेपाल प्रहरीका लागि विश्वका उत्कृष्ट अभ्यास सिक्ने, अनुभव आदान–प्रदान गर्ने तथा भविष्यका सहकार्यका नयाँ अवसर पहिचान गर्ने महत्वपूर्ण मञ्च बनेको छ। सम्मेलनबाट प्राप्त ज्ञान, सीप र अनुभवलाई नेपालको सार्वजनिक सुरक्षा, शान्ति र अमनचयनलाई थप प्रभावकारी बनाउन उपयोग गरिने उनले बताए।
यसैगरी, उनले संयुक्त राष्ट्रसंघीय शान्ति मिसनमा नेपाल प्रहरीको सहभागिता बढाउने विषयमा विभिन्न द्विपक्षीय तथा बहुपक्षीय भेटवार्तामा पनि छलफल भएको जानकारी दिए। उनका अनुसार सशस्त्र प्रहरी बल (एपीएफ) को ‘फर्म्ड पुलिस युनिट (एफपीयू)’ लेभल–३ मा पुगिसकेको छ भने नेपाल प्रहरी हाल लेभल–२ मा रहेको छ। आवश्यक स्रोत–साधनको व्यवस्थापन गर्न सके नेपाल प्रहरी पनि लेभल–३ मा स्तरोन्नति हुन सक्ने सम्भावना रहेको उनले बताए।
आईजीपी कार्कीले नेपाल प्रहरी र सशस्त्र प्रहरी दुवैको संयुक्त राष्ट्रसंघका विभिन्न शान्ति मिसनमा सहभागिता थप विस्तार गर्ने विषयलाई प्राथमिकताका साथ अघि बढाइएको पनि स्पष्ट पारे।