काठमाडौं । सर्लाहीको गोडैता नगरपालिकाका २५ वर्षीय विवेक मण्डलको आत्मदाह प्रयासपछि उपचारका क्रममा निधन भएको छ।
शुक्रबार आफ्नै शरीरमा पेट्रोल खन्याएर आगो लगाएका मण्डललाई सोही दिन हेलिकप्टरमार्फत काठमाडौं ल्याई कीर्तिपुरस्थित बर्न अस्पतालमा भर्ना गरिएको थियो। अस्पतालका मेडिकल डाइरेक्टर डा. किरण नकर्मीका अनुसार आईसीयूमा उपचाररत मण्डलको आज बिहान २:०५ बजे निधन भएको हो।
अस्पतालका अनुसार मण्डलको शरीरको करिब ८५ प्रतिशत भाग जलेको थियो। शुक्रबार साँझ करिब ७:३० बजे उनलाई कीर्तिपुरस्थित बर्न अस्पताल पुर्याएर सघन उपचार सुरु गरिएको थियो।
प्रारम्भिक जानकारीअनुसार मण्डलले शुक्रबार घरबाट करिब २०० मिटर टाढा पुगेर आफ्नै शरीरमा पेट्रोल खन्याई आगो लगाएका थिए। घटनाको कारणबारे प्रहरीले थप अनुसन्धान गरिरहेको छ।