काठमाडौं । प्रधानमन्त्री बालेन्द्र साह (बालेन) लगायतका व्यक्तिलाई लक्षित गरी सामाजिक सञ्जालमा अश्लील तथा अपमानजनक सामग्री प्रसारण गरेको आरोपमा युट्युबर रोशन पोखरेलविरुद्ध साइबर अपराधसम्बन्धी मुद्दा दायर गरिएको छ।
पाँचथरको फाल्गुनन्द गाउँपालिका–७ दोबाटेका २४ वर्षीय पोखरेलविरुद्ध जिल्ला सरकारी वकिल कार्यालय पाँचथरले विद्युतीय (इलेक्ट्रोनिक) कारोबार ऐन, २०६३ अन्तर्गत अभियोगपत्र दर्ता गरेको हो।
पोखरेललाई गत चैत २६ गते प्रहरीले पक्राउ गरेको थियो।
प्रहरीका अनुसार उनले ‘हेडिज जङ्गली’ नामका फेसबुक, टिकटक, इन्स्टाग्राम र युट्युबमार्फत प्रधानमन्त्री बालेन्द्र साहलगायतका व्यक्तिलाई लक्षित गरी अश्लील, अपमानजनक तथा अमर्यादित सामग्री पोस्ट गरेका थिए।
अनुसन्धानका क्रममा पोखरेलले सामाजिक सञ्जालमा बढी लाइक, कमेन्ट र पहुँच बढाउने उद्देश्यले अश्लील शब्द प्रयोग गरेको स्वीकार गरेको प्रहरीको दाबी छ। प्रहरीले उनको साथबाट बरामद गरिएको शाओमी १४टी मोबाइल फोन र सिमकार्ड डिजिटल फरेन्सिक परीक्षणका लागि पठाएको जनाएको छ।
जिल्ला सरकारी वकिल कार्यालय पाँचथरका सहायक जिल्ला न्यायाधिवक्ता अवसर मादेनले दायर गरेको अभियोगपत्रमा पोखरेललाई विद्युतीय (इलेक्ट्रोनिक) कारोबार ऐन, २०६३ को दफा ४७(१) बमोजिम सजायको माग गरिएको छ।
उक्त कानुनी व्यवस्थाअनुसार कसुर प्रमाणित भएमा एक लाख रुपैयाँसम्म जरिवाना, पाँच वर्षसम्म कैद वा दुवै सजाय हुन सक्ने व्यवस्था छ।