काठमाडौं । काठमाडौंको पर्यटकीय क्षेत्र ठमेलमा पर्यटक र सर्वसाधारणलाई दुःख हैरानी दिएको तथा प्रहरीमाथि अभद्र व्यवहार गरेको आरोपमा तीन युगान्डाली महिला पक्राउ परेका छन्।
प्रहरी वृत्त लैनचौरको टोलीले उनीहरूलाई ठमेल क्षेत्रमा विदेशी तथा स्वदेशी पर्यटक र सर्वसाधारण पुरुषलाई अनावश्यक रूपमा बाटो छेक्ने, अश्लील क्रियाकलापका लागि मोलमोलाइ गर्ने तथा प्रहरीको काममा अवरोध पुर्याउँदै अभद्र व्यवहार गरेको आरोपमा नियन्त्रणमा लिएको हो।
जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता प्रहरी उपरीक्षक पवनकुमार भट्टराईका अनुसार पक्राउ परेका तीनै जनामाथि ‘अभद्र व्यवहार गर्न नहुने’ कसुरमा अनुसन्धान भइरहेको छ।
प्रहरीले उनीहरूलाई थप अनुसन्धानका लागि जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट सात दिनको म्याद थप गरी अनुसन्धान प्रक्रिया अघि बढाएको जनाएको छ।