काठमाडौँ । लागुऔषध नियन्त्रण ब्यूरोको टोलीले भारततर्फ निकासी गर्न लागिएको १५ किलो ३४० ग्राम अफिमसहित दुई महिलालाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा बर्दियाको बढैयाताल गाउँपालिका–४ निवासी ३० वर्षीया सन्ध्या घर्तीमगर र बाँसगढी नगरपालिका–३ निवासी ४२ वर्षीया मीना रोकाया रहेका छन्।
लागुऔषध नियन्त्रण ब्यूरोका प्रवक्ता एवं प्रहरी उपरीक्षक दुर्गाराज रेग्मीका अनुसार अफिम खरिद गरी बिक्रीका लागि भारततर्फ लैजाने तयारी गरिरहेको अवस्थामा लागुऔषध नियन्त्रण ब्यूरोको शाखा कार्यालय नेपालगञ्जबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई पक्राउ गरेको हो।
प्रहरीले उनीहरूको साथबाट १५ किलो ३४० ग्राम अफिम, दुई थान मोबाइल फोन तथा नगद ३४ हजार रुपैयाँ बरामद गरेको जनाएको छ।
पक्राउ परेका दुवै महिलालाई थप अनुसन्धान तथा कानुनी कारबाहीका लागि इलाका प्रहरी कार्यालय मोतिपुरमा बुझाइएको प्रवक्ता रेग्मीले जानकारी दिनुभयो। प्रहरीले घटनाबारे थप अनुसन्धान अघि बढाएको छ।