बुधबार, कार्तिक ११ २०८३

बुधबार, कार्तिक ११ २०८३

पूर्वराष्ट्रिय गोलकिपर विशाल श्रेष्ठ राखेपको उपाध्यक्ष नियुक्त

बिहिबार, जेष्ठ २८ २०८३

काठमाडौँ । शिक्षा तथा खेलकुद मन्त्रालयले राष्ट्रिय खेलकुद परिषद् को उपाध्यक्षमा पूर्वराष्ट्रिय फुटबल टोलीका गोलकिपर विशाल श्रेष्ठ लाई नियुक्त गरेको छ।

नेपाली राष्ट्रिय फुटबल टोलीका लामो समयसम्म सदस्य रहनुभएका श्रेष्ठले खेल जीवनमा उल्लेखनीय योगदान पुर्‍याउनुभएको थियो। केही वर्षअघि अन्तरराष्ट्रिय फुटबलबाट सन्यास लिनुभएका उहाँ अब देशको सर्वोच्च खेलकुद निकायको नेतृत्व तहमा पुगेका छन्।

यसैबीच, मन्त्रालयले विभिन्न खेल विधाको प्रतिनिधित्व सुनिश्चित गर्ने उद्देश्यले चार जना बोर्ड सदस्य पनि नियुक्त गरेको छ। नियुक्त हुनेहरूमा टेबलटेनिस खेलाडी सिक्का सुवाल, पूर्व अन्तरराष्ट्रिय क्रिकेट खेलाडी तथा प्रशिक्षक शक्ति गौचन, बुद्धिचाल खेलाडी मोनालिसा खुम्बु तथा फुटबल खेलाडी पवन शाही रहेका छन्।

मन्त्रालयको यो निर्णयलाई खेलकुद प्रशासनमा अनुभवी खेलाडीहरूको सहभागिता बढाउने प्रयासका रूपमा हेरिएको छ। खेल मैदानमा लामो अनुभव हासिल गरेका व्यक्तिहरूको सहभागिताले खेलकुद नीतिनिर्माण, व्यवस्थापन तथा संस्थागत सुधारमा सकारात्मक योगदान पुग्ने अपेक्षा गरिएको छ।

नवनियुक्त पदाधिकारीहरूले खेल पूर्वाधार विकास, खेलाडी कल्याण, प्रतिभा पहिचान तथा राष्ट्रिय खेलकुदको समग्र विकासमा महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने विश्वास मन्त्रालयले व्यक्त गरेको छ।