बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

विशेष महाधिवेशनपछि कांग्रेसको क्रियाशील सदस्यता घट्याे

आइतबार, जेष्ठ २४ २०८३

काठमाडौं । नेपाली कांग्रेसमा नेतृत्व परिवर्तनपछि पार्टीप्रति आकर्षण बढेको दाबी गरिए पनि क्रियाशील सदस्यता अद्यावधिकको तथ्यांकले त्यसलाई पुष्टि नगरेको देखिएको छ।

‘बदलियौँ कांग्रेस, अब बदल्छौँ देश’ नारासहित गत पुस मसान्तमा सम्पन्न दोस्रो विशेष महाधिवेशनबाट गगनकुमार थापा पार्टी सभापतिमा निर्वाचित भएका थिए। विशेष महाधिवेशन पक्षधरहरूले त्यसपछि कांग्रेसप्रति जनआकर्षण बढेको दाबी गरेका थिए। तर, फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा पार्टीले अपेक्षाविपरीत नतिजा भोग्नुपरेको बताइएको छ।

क्रियाशील सदस्यता व्यवस्थापन समितिका अनुसार हालसम्म करिब तीन लाख ७५ हजार सदस्यले मात्र आफ्नो सदस्यता डिजिटल माध्यमबाट अद्यावधिक गरेका छन्। १४औँ महाधिवेशनका बेला कांग्रेसमा आठ लाख ७० हजारभन्दा बढी क्रियाशील सदस्य रहेको तथ्यांक थियो।

समितिका संयोजक महामन्त्री प्रदीप पौडेल नेतृत्वमा सदस्यता अद्यावधिक प्रक्रिया सञ्चालन भइरहेको छ। समितिका सदस्य तथा सहमहामन्त्री रसाइलीले विशेष महाधिवेशनअघि नै करिब चार लाख ५० हजार सदस्यले नवीकरण गरिसकेको भए पनि हाल डिजिटल अद्यावधिक गर्नेको संख्या तीन लाख ७५ हजारमा सीमित रहेको जानकारी दिएका छन् ।

उहाँले अघिल्लो महाधिवेशनमा सरकारी कर्मचारी, शिक्षकलगायत करिब दुई लाख सदस्य रहेको र कानुनी व्यवस्थाका कारण उनीहरू पार्टी सदस्य रहन नपाउने भएपछि सदस्य संख्या घटेको दाबी गर्नुभएको छ। यद्यपि पार्टीप्रति आकर्षण बढेको दाबी गरिएका बेला सदस्यता संख्या बढ्नुपर्ने भए पनि त्यसो हुन नसकेको टिप्पणी गरिएको छ।

विशेष महाधिवेशनपछि कांग्रेसभित्र आन्तरिक विवाद पनि कायम रहेको बताइएको छ। गगन थापाको नेतृत्वमा गठित नयाँ कार्यसमितिले क्रियाशील सदस्यता अद्यावधिकलाई अनिवार्य बनाएपछि निवर्तमान सभापति शेरबहादुर देउवा समूह तथा डा. शेखर कोइराला समूहले त्यसप्रति असन्तुष्टि जनाउँदै आएको बताइएको छ।

कांग्रेसभित्रको यही विवाद र सदस्यता अद्यावधिक प्रक्रियाप्रतिको असहमतिले क्रियाशील सदस्यको संख्या अपेक्षाअनुसार नबढेको विश्लेषण गरिएको छ।