काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने पाँचदिने औपचारिक भ्रमणका लागि आज भारत प्रस्थान गर्दै छन्। भारतको सत्तारुढ भारतीय जनता पार्टी (भाजपा)का अध्यक्ष नितिन नवीनको निमन्त्रणामा उनी भारत जान लागेका हुन्।
रास्वपाका अनुसार लामिछानेसँगै पार्टीका सहमहामन्त्री तथा प्रतिनिधिसभा सदस्य विपिनकुमार आचार्य, सचिवालय सदस्य तथा प्रतिनिधिसभा सदस्य दीपक बोहोरा, पत्नी निकिता पौडेल तथा प्रदीप आचार्य पनि भ्रमण टोलीमा सहभागी रहनेछन्।
रास्वपा प्रवक्ता मनिष झाले जारी गरेको विज्ञप्तिअनुसार सभापति लामिछानेले जेठ १८ देखि २२ गते (जुन १ देखि ५ तारिख) सम्म भारत भ्रमण गर्ने कार्यक्रम छ। भ्रमणका क्रममा उनले नयाँदिल्लीमा उच्चस्तरीय राजनीतिक तथा कूटनीतिक भेटवार्ता गर्नेछन्।
भ्रमण अवधिमा लामिछानेले भाजपा नेतृत्व, भारतमा रहेका नेपाली समुदाय तथा पार्टीका शुभेच्छुकहरूसँग भेटघाट गर्ने कार्यक्रम रहेको छ। साथै उनले अयोध्याको भ्रमणसमेत गर्नेछन्।
रास्वपाले भेटघाट, छलफल तथा भ्रमण कार्यक्रमका लागि नयाँदिल्लीस्थित नेपाली दूतावासले आवश्यक समन्वय गरिरहेको जनाएको छ।
पार्टीले उक्त भ्रमणले नेपाल–भारत सम्बन्ध तथा दुई देशका राजनीतिक दलबीचको संवादलाई थप सुदृढ बनाउन सहयोग पुग्ने विश्वास व्यक्त गरेको छ।