बिहिबार, कार्तिक १२ २०८३

बिहिबार, कार्तिक १२ २०८३

खाडी मुलुकको अपिलपछि इरानमाथिको आक्रमण योजना स्थगित गरेको ट्रम्पको दाबी

मंगलबार, जेष्ठ ५ २०८३

कतार । कतार, साउदी अरेबिया र संयुक्त अरब इमिरेट्स (युएई) को अपिलपछि अमेरिकाले इरानमा नियोजित आक्रमण स्थगित गरेको अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बताएका छन् ।

सामाजिक सञ्जाल ‘ट्रुथ’ मा पोस्ट गर्दै राष्ट्रपति ट्रम्पले कतारका अमिर शेख तमिम बिन हमद अल थानी, साउदी क्राउन प्रिन्स मोहम्मद बिन सलमान र युएईका राष्ट्रपति मोहम्मद बिन जायद अल नाह्यानले वार्ता जारी रहेको अवस्थामा इरानमाथि निर्धारित सैन्य कारबाही नगर्न अनुरोध गरेको उल्लेख गरेका छन् ।

ट्रम्पका अनुसार अमेरिकाले इरानविरुद्ध थप सैन्य कारबाहीको योजना बनाइरहेको भए पनि खाडी मुलुकका नेताहरूको अपिलपछि त्यसलाई अस्थायी रूपमा स्थगित गरिएको हो ।

उनले हाल गम्भीर वार्ता भइरहेको र यसबाट अमेरिका, मध्यपूर्वका देशहरू तथा विश्व समुदाय सबैका लागि स्वीकार्य सम्झौता हुने अपेक्षा व्यक्त गरेका छन् ।

सम्झौताअनुसार इरानले कुनै पनि प्रकारको आणविक हतियार विकास नगर्ने विषय समावेश हुने बताइएको छ । साथै, खाडी नेताहरूप्रति सम्मान जनाउँदै रक्षा विभागका उच्च अधिकारीहरूलाई परिस्थिति मूल्यांकनका आधारमा आवश्यक परे तत्काल कारबाहीको तयारीमा रहन निर्देशन दिइएको ट्रम्पको भनाइ छ ।

तर स्वीकार्य सम्झौता नभएमा इरानमाथि सैन्य आक्रमण अघि बढ्न सक्ने संकेत पनि उनले गरेका छन् ।

यसैबीच, इरानको आणविक कार्यक्रमलाई लिएर बढ्दो तनावका बीच अमेरिका कूटनीतिक र सैन्य दुवै विकल्पमा विचार गरिरहेको बताइएको छ । इरानले पछिल्लो वार्तामा प्रस्तुत गरेको संशोधित प्रस्ताव भने सीमित परिवर्तनसहित आएको अमेरिकी पक्षको दाबी छ ।