बुधबार, कार्तिक ११ २०८३

बुधबार, कार्तिक ११ २०८३

आर्थिक चुनौतीबीच निजी क्षेत्रको मनोबल उकास्न सफल भयौँ : अध्यक्ष ढकाल

बुधबार, बैशाख २३ २०८३

काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले आफ्नो तीनवर्षे कार्यकाल आर्थिक चुनौतीबीच निजी क्षेत्रलाई सशक्त बनाउने प्रयासमा केन्द्रित रहेको बताएका छन्। महासङ्घको ६०औँ वार्षिक साधारणसभाका अवसरमा उनले आफ्नो कार्यकाललाई चुनौतीपूर्ण भए पनि उपलब्धिमूलक रहेको बताएका हुन्।

ढकालका अनुसार आफूले नेतृत्व सम्हाल्दा मुलुकको अर्थतन्त्र कोभिड-१९ को असरबाट तङ्ग्रिँदै थियो भने रुस–युक्रेन युद्धका कारण विश्व आपूर्ति शृङ्खला प्रभावित भएको थियो। त्यसमाथि उच्च ब्याजदर, तरलताको अभाव र राजनीतिक अस्थिरताले निजी क्षेत्रलाई थप दबाबमा पारेको उनले स्मरण गरे।

यस्तो अवस्थामा निजी क्षेत्रको मनोबल उच्च राख्दै लगानीमैत्री वातावरण निर्माण, नीतिगत सुधार र सरकार–निजी क्षेत्र सहकार्यलाई प्राथमिकतामा राखेर काम गरिएको उनको भनाइ छ। “सरकार र निजी क्षेत्र परिपूरक हुन् भन्ने तथ्य स्थापित गर्न हामी सफल भयौँ,” उनले भने।

उनले आफ्नो कार्यकालमा विभिन्न कानुनी सुधारका लागि पहल गरिएको र त्यसका लागि निरन्तर संवाद तथा ‘एड्भोकेसी’ गरिएको उल्लेख गरे। बृहत् राष्ट्रिय आर्थिक बहसमार्फत राजनीतिक दल, सरकार र निजी क्षेत्रलाई एउटै मञ्चमा ल्याउन सफल भएको उनको दाबी छ। सोही पहलका आधारमा रामेश्वर खनालको नेतृत्वमा उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोग गठन भई ३० भन्दा बढी कानुन संशोधनका सिफारिस भएको उनले बताए।

सरकारले निजी क्षेत्रलाई अख्तियारको दायरामा ल्याउने प्रस्ताव अघि बढाउँदा महासङ्घले विभिन्न निकायसँग संवाद गरेर उक्त प्रस्ताव रोक्न सफल भएको पनि उनले बताए। यसले लगानी वातावरण जोगाउन सहयोग पुगेको उनको भनाइ छ।

ढकालले नेपालमा लगानीका पर्याप्त अवसर रहेको उल्लेख गर्दै नकारात्मक भाष्य चिर्न महासङ्घले १० अर्ब रुपैयाँ पूँजीको ‘नेपाल डेभलपमेन्ट पब्लिक लिमिटेड’ स्थापना गरेको जानकारी दिए। यसमार्फत पूर्वाधार, उत्पादनमूलक उद्योग र स्टार्टअप क्षेत्रमा लगानी भइरहेको उनले बताए।

उनले महिला, युवा, स्टार्टअप र साना–मझौला उद्यमलाई प्रवर्द्धन गर्न महासङ्घले विभिन्न इकाइ स्थापना गरेको र स्टार्टअप नीति निर्माणमा पनि योगदान दिएको बताए। बाह्य लगानी भित्र्याउन अन्तर्राष्ट्रिय स्तरमा पहल तीव्र पारिएको उनको भनाइ छ।

राजनीतिक स्थिरतासँगै अब लगानीमैत्री वातावरण थप मजबुत हुने विश्वास व्यक्त गर्दै उनले नयाँ सरकारबाट निजी क्षेत्रलाई प्रोत्साहन गर्ने नीति आउने अपेक्षा राखे।

यसैबीच, आफ्नो कार्यकालको महत्वपूर्ण उपलब्धिका रूपमा उनले महासङ्घको विधान संशोधनलाई उल्लेख गरे। अब अध्यक्ष पदका लागि प्रत्यक्ष निर्वाचन हुने र जिल्ला–नगर तथा महिलाको प्रतिनिधित्व बढाइएको उनले बताए।

  उनले आगामी दिनमा पनि उद्यमशीलता विकास, रोजगारी सिर्जना र आर्थिक उन्नतिका क्षेत्रमा सक्रिय रहने प्रतिबद्धता व्यक्त गर्दै सबै सरोकारवालालाई धन्यवाद दिएका छन्।