बुधबार, कार्तिक ११ २०८३

बुधबार, कार्तिक ११ २०८३

एमआरपी विवादका कारण वीरगन्ज भन्सार ठप्प, १४ सयभन्दा बढी मालवाहक सवारी रोकिए

मंगलबार, बैशाख २२ २०८३

वीरगन्ज (पर्सा) । मुलुककै प्रमुख व्यापारिक नाका वीरगन्ज भन्सार मा सेवा प्रवाह एक सातादेखि प्रभावित हुँदा १४ सयभन्दा बढी मालवाहक सवारीसाधन रोकिएका छन्।

भन्सार विन्दुमा आयातित वस्तुमा अनिवार्य अधिकतम खुद्रा मूल्य (एमआरपी) लागू गर्ने विषयमा विवाद भएपछि जाँचपास प्रक्रिया ठप्प भएको हो। पेट्रोलियम पदार्थ, औद्योगिक कच्चा पदार्थ, तरकारी र फलफूल बाहेकका वस्तुहरूको जाँचपास हुन सकेको छैन।

वैशाख १५ गतेदेखि आयात–निर्यातकर्ता भन्सार जाँचपास प्रक्रियामा सहभागी नहुँदा भारतको रक्सौलतर्फ समेत सवारीसाधन लामबद्ध भएका छन्। भन्सार कार्यालयका सूचना अधिकृत उदयसिंह विष्टका अनुसार दैनिक दुई सयभन्दा बढी सवारी थपिँदा करिब १४ सय सवारी जाँचपास नहुँदा रोकिएका हुन्।

भन्सार प्रशासनले प्रक्रिया सञ्चालनका लागि तयारी भए पनि आयातकर्ताले फाराम भर्ने र घोषणा गर्ने कार्यमा सहभागी नभएकाले समस्या देखिएको जनाएको छ। भन्सार विभाग ले समन्वय गरिरहेको र समस्या चाँडै समाधान हुने अपेक्षा गरिएको छ।

यसैबीच, वीरगन्जको एकीकृत सुरक्षा भन्सार जाँचचौकी व्यवस्थापनको जिम्मा पाएको टीआरएस हिमालयन लर्जी पार्कका अनुसार भारतीय सडकतर्फ पनि सवारीको लाम देखिएको छ। उद्योगी–व्यवसायीहरूले समस्या छिटो समाधान गर्न सरकारसँग आग्रह गरेका छन्।

वीरगन्ज भन्सारले दैनिक ५० देखि ६० करोड रुपैयाँ राजस्व सङ्कलन गर्दै आएको छ। तर लामो समयसम्म समस्या कायम रहँदा राज्य र व्यवसायी दुवै पक्ष प्रभावित हुने भन्दै सरोकारवालाले तत्काल समाधानको माग गरेका छन्।