बिहिबार, कार्तिक १२ २०८३

बिहिबार, कार्तिक १२ २०८३

लागुऔषधसहित विभिन्न स्थानबाट ३४ जना पक्राउ

शनिबार, बैशाख १९ २०८३

काठमाडौँ । प्रहरीले देशका विभिन्न जिल्लाबाट लागुऔषध कारोबारमा संलग्न ३४ जनालाई पक्राउ गरेको जनाएको छ। झापा, सुनसरी, कैलाली, चितवन, कास्की, काठमाडौँलगायतका स्थानबाट उनीहरूलाई नियन्त्रणमा लिइएको नेपाल प्रहरी प्रधान कार्यालयको केन्द्रीय प्रहरी समाचार कक्षले जनाएको छ।

प्रहरीका अनुसार काठमाडौँको दक्षिणकाली नगरपालिका–५, बुढानिलकण्ठ नगरपालिका–६ र चन्द्रागिरी नगरपालिका–२ नागढुङ्गाबाट एक/एक जना पक्राउ परेका छन्। झापाको मेचीनगर नगरपालिका–६ बाट दुई तथा धनुषाको मुखियापट्टी मुसहरनिया गाउँपालिका–६ बाट दुई जना पक्राउ परेका छन्।

त्यस्तै कैलालीको भजनी नगरपालिका–३ र धनगढी उपमहानगरपालिका–६ बाट एक/एक, इलामको सूर्योदय नगरपालिका–७ हर्कटेबाट दुई तथा सुनसरीको दुहवी नगरपालिका–१०, बराहक्षेत्र नगरपालिका–२ पुनर्वास र धरान उपमहानगरपालिका–१७ बाट एक/एक जना पक्राउ परेका प्रहरीले जनाएको छ।

चितवनको भरतपुर महानगरपालिका–११ भोजाडबाट तीन, भरतपुर महानगरपालिका–१ आँपटारीबाट एक र राप्ती नगरपालिका–११ डुम्रेखाडी जङ्गलबाट एक जना पक्राउ परेका छन्। कास्कीको पोखरा महानगरपालिका–१८ लामागाउँबाट दुई जनालाई नियन्त्रणमा लिइएको जनाइएको छ।

कञ्चनपुरको बेदकोट नगरपालिका–३ सामादैजीबाट एक तथा बेलौरी नगरपालिका–१० सडकघाटबाट चार जना पक्राउ परेका इलाका प्रहरी कार्यालय बेलडाँडीले जनाएको छ। जाजरकोटको शिवालय गाउँपालिका–छेडाचौरबाट चार जना पक्राउ परेका छन्।

यस्तै पर्साको पोखरिया नगरपालिका–४ बाट एक जना, दाङको तुलसीपुर उपमहानगरपालिका–५ बसपार्कबाट दुई र मोरङको सुन्दरहरैँचा नगरपालिका–९ बाट एक जना पक्राउ परेका प्रहरीले जनाएको छ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान भइरहेको जनाएको छ।