झापा। मेची भन्सार कार्यालयले चालु आर्थिक वर्ष २०८२/८३ को चैत मसान्तसम्म रु १३ अर्ब १४ करोड ४५ लाख ८१ हजार राजश्व संकलन गरेको जनाएको छ। उक्त संकलन वार्षिक लक्ष्यको ६९ दशमलव ८३ प्रतिशत रहेको कार्यालयले जानकारी दिएको छ।
कार्यालयका सूचना अधिकारी ईश्वरकुमार हुमागाईंका अनुसार चालु आर्थिक वर्षका लागि रु १८ अर्ब ८७ करोड ७४ लाख ८३ हजार राजश्व संकलन गर्ने लक्ष्य राखिएको छ। चैत महिनामा मात्रै रु एक अर्ब ६० करोड ६८ लाख ४७ हजार राजश्व संकलन भएको उनले बताए। यो संकलन चैत महिनाको लक्ष्यको ९४ दशमलव ६९ प्रतिशत रहेको जनाइएको छ।
कार्यालयको तथ्याङ्कअनुसार साउन महिनामा रु एक अर्ब २६ करोड ५० लाख ७९ हजार, भदौमा रु एक अर्ब ३६ करोड ४४ लाख ३९ हजार, असोजमा रु एक अर्ब ५२ करोड २४ लाख ९१ हजार र कात्तिकमा रु एक अर्ब ३० करोड ८१ लाख ८९ हजार राजश्व संकलन भएको छ।
त्यसैगरी मङ्सिरमा रु एक अर्ब ३६ करोड ७४ हजार, पुसमा रु एक अर्ब ५८ करोड ८९ लाख २४ हजार, माघमा रु एक अर्ब ४७ करोड ८८ लाख ५७ हजार र फागुनमा रु एक अर्ब ६५ करोड ८० लाख चार हजार राजश्व संकलन भएको कार्यालयले जनाएको छ।