बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

पेट्रोल र डिजेलकाे मूल्य घढ्याे, ग्यास र हवाइ इन्धनकाे मूल्य बढ्याे

शुक्रबार, बैशाख १८ २०८३

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य पुनः समायोजन गरेको छ। शुक्रबारदेखि लागू हुने गरी पेट्रोलमा प्रतिलिटर २ रुपैयाँ र डिजेल–मट्टितेलमा १२ रुपैयाँले मूल्य घटाइएको निगमले जनाएको छ।

नयाँ दरअनुसार अब पेट्रोल प्रतिलिटर २१७ रुपैयाँ र डिजेल–मट्टितेल २२५ रुपैयाँमा कायम भएको छ। पछिल्लो समय इन्धनको मूल्य वृद्धि हुँदा आलोचना खेपिरहेको सरकारका लागि यो समायोजनले उपभोक्तालाई केही राहत दिने अपेक्षा गरिएको छ।

तर, सबै इन्धनमा भने मूल्य घटेको छैन। निगमका अनुसार आन्तरिक हवाइ इन्धन प्रतिलिटर ७ रुपैयाँले बढेर २६९ रुपैयाँ पुगेको छ। अन्तर्राष्ट्रिय उडानतर्फ काठमाडौंका लागि हवाइ इन्धन प्रतिकिलोमिटर ४६ अमेरिकी डलरले वृद्धि भई १,८३१ अमेरिकी डलर कायम गरिएको छ। पोखरा र भैरहवाका लागि भने ब्रेकइभन बिन्दुमा मूल्य निर्धारण गरिएको जनाइएको छ।

यसैबीच, खाना पकाउने एलपी ग्यासको मूल्य पनि बढाइएको छ। अब १४.२ किलोग्रामको सिलिन्डर २,१६० रुपैयाँ र ७.१ किलोग्रामको १,०८० रुपैयाँ कायम भएको छ, जुन अघिल्लो मूल्यभन्दा प्रतिसिलिन्डर १५० रुपैयाँले बढी हो।

निगमले पश्चिम एसियामा जारी द्वन्द्वका कारण अन्तर्राष्ट्रिय बजारमा इन्धनको मूल्य निरन्तर बढिरहेको उल्लेख गर्दै त्यसको प्रभाव नेपालमा पनि परेको स्पष्ट पारेको छ।