बुधबार, साउन १३ २०८३

बुधबार, साउन १३ २०८३

निजी क्षेत्र देशको आर्थिक इन्जिन होः अध्यक्ष ढकाल

बिहिबार, बैशाख १७ २०८३

काठमाडौं ।  नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले मुलुकको अर्थतन्त्रमा निजी क्षेत्रको योगदानलाई नजरअन्दाज गर्न नमिल्ने बताएका छन् ।

नेपाल उद्योग वाणिज्य महासंघको ६० औँ वार्षिक साधारण सभाका अवसरमा आयोजित कार्यक्रममा उनले कुल गार्हस्थ्य उत्पादन (जीडीपी) मा करिब ८१ प्रतिशत र रोजगारी सिर्जनामा ८६ प्रतिशतभन्दा बढी योगदान निजी क्षेत्रकै रहेको उल्लेख गरे ।

ढकालले पूर्वाधार निर्माणदेखि सेवा प्रवाहसम्म निजी क्षेत्रको व्यापक सहभागिता रहेको भन्दै यसको अनुपस्थितिमा मुलुकको समृद्धिको कल्पना गर्न नसकिने धारणा राखे। उनका अनुसार आफ्नो कार्यकालमा महासंघले नेपाल चेम्बर अफ कमर्स र नेपाल उद्योग परिसंघ (सीएनआई) सँग सहकार्य गर्दै निजी क्षेत्रका एजेन्डालाई अगाडि बढाएको छ।

उनले कालोबजारी ऐनजस्ता पुराना कानुनमा सुधारका प्रयास र ‘निजी क्षेत्र संरक्षण र प्रवद्र्धन योजना’ (पीएसपीपी) पारित हुनु ठूलो उपलब्धि भएको बताए। उक्त योजना प्रभावकारी रूपमा कार्यान्वयन भए निजी क्षेत्र अझ सशक्त हुने उनको विश्वास छ।

ढकालले सरकार र निजी क्षेत्रबीच ‘पक्ष–प्रतिपक्ष’ जस्तो सम्बन्ध हुन नहुने स्पष्ट पार्दै निर्वाचनको प्रतिस्पर्धा मतदानसम्म मात्र सीमित हुनुपर्ने धारणा व्यक्त गरे। मतदानपछि सबै पक्ष साझा आर्थिक एजेन्डामा एकजुट हुनुपर्ने उनको भनाइ छ।

महासंघको आगामी नेतृत्व चयनबारे उनले सर्वसम्मत नेतृत्वका लागि प्रयास गरे पनि सम्भव नभएको बताउँदै नयाँ नेतृत्वले निजी क्षेत्रका अधुरा कामहरू पूरा गर्ने विश्वास व्यक्त गरे।