काठमाडौं । महालक्ष्मी विकास बैंक लिमिटेड ले चालु आर्थिक वर्ष २०८२/८३ को तेस्रो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । सार्वजनिक विवरणअनुसार बैंकले समग्र सूचकमा सुधार देखाए देखिएको छ।
बैंकले चालु आवको तेस्रो त्रैमासिक अवधिसम्ममा ४५ करोड ९९ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ, जुन गत आवको सोही अवधिको ४३ करोड ६५ लाख रुपैयाँको तुलनामा पाँच दशमलव ३६ प्रतिशतले बढी हो।
समिक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी छ दशमलव २४ प्रतिशतले बढेर एक अर्ब ६३ करोड २३ लाख रुपैयाँ पुगेको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा यस्तो आम्दानी एक अर्ब ५३ करोड ६४ लाख रुपैयाँ रहेको थियो । यसले बैंकको मुख्य व्यवसायबाट हुने आम्दानीमा सकारात्मक सुधार भएको संकेत गर्छ । यस्तै, बैंकको सञ्चालन नाफा पनि उल्लेख्य रूपमा बढेको छ । चालु आवको चैत मसान्तसम्म सञ्चालन नाफा १० दशमलव ४३ प्रतिशतले बढेर ६९ करोड ३६ लाख रुपैयाँ पुगेको छ, जबकि गत आवको सोही अवधिमा यस्तो नाफा ६२ करोड ८१ लाख रुपैयाँ थियो । तर, सकारात्मक सूचकसँगै बैंकको निष्क्रिय कर्जा भने बढेको छ । अघिल्लो वर्ष चार दशमलव ९९ प्रतिशत रहेको निष्क्रिय कर्जा अनुपात बढेर छ दशमलव ५९ प्रतिशत पुगेको छ, जसले बैंकको कर्जा गुणस्तरमा दबाब देखिएको संकेत गर्दछ।