बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

वीरगञ्ज नाका हुँदै तीन अर्ब बराबरका विद्युतीय सवारीसाधन आयात

मंगलबार, बैशाख १५ २०८३

वीरगञ्ज (पर्सा)। चालु आर्थिक वर्षको नौ महिनामा वीरगञ्ज नाका हुँदै करिब तीन अर्ब रुपैयाँ बराबरका विद्युतीय सवारीसाधन आयात गरिएको छ ।

वीरगञ्ज भन्सार कार्यालयका अनुसार सो अवधिमा २ अर्ब ९८ करोड रुपैयाँ बराबरका विद्युतीय सवारीसाधन आयात भएका छन्, जुन गत आर्थिक वर्षको सोही अवधिको तुलनामा १०२ प्रतिशत अर्थात् करिब एक अर्ब ५० करोड रुपैयाँले बढी हो ।

भन्सार कार्यालयका सूचना अधिकारी उदयसिंह विष्टका अनुसार विद्युतीय सवारीसाधनको आयात शतप्रतिशतले वृद्धि भएको देखिएको छ । गत आवको नौ महिनामा १ अर्ब ४८ करोड रुपैयाँ बराबरका सवारी आयात भएका थिए ।

चालु आवको नौ महिनामा १ अर्ब ४६ करोड रुपैयाँ बराबरका ४९३ वटा विद्युतीय जिप, कार र भ्यान आयात भएका छन् भने गत आवमा ४८ करोड रुपैयाँका १७२ वटा मात्र आयात भएका थिए ।

त्यसैगरी ९६ करोड रुपैयाँ बराबरका ७ हजार ३९८ वटा विद्युतीय मोटरसाइकल आयात भएका छन्, जुन गत आवमा ५५ करोड रुपैयाँका ४ हजार २२७ वटा मात्र थिए ।

यस्तै ५३ करोड रुपैयाँ बराबरका ४ हजार ६०६ वटा विद्युतीय तीन पाङ्ग्रे सवारीसाधन पनि आयात भएका छन्, जबकि गत आवमा ४५ करोड रुपैयाँका ३ हजार ६१३ वटा मात्र आयात भएका थिए ।