म्याग्दी । धवलागिरि गाउँपालिका–४ बगरमा ६५ मेगावाट क्षमताको म्याग्दीखोला जलविद्युत् आयोजना निर्माण सुरु भएको छ। हाइड्रो भिलेज प्रालि प्रवर्द्धक रहेको आयोजनाले सडक, विद्युत्गृह, सुरुङ तथा प्रसारण लाइन निर्माण कार्य समानान्तर रूपमा अघि बढाएको जनाएको छ।
आयोजनाका प्रमुख उत्तम पौडेलका अनुसार बगर गाउँदेखि बाँध निर्माणस्थल दोभानसम्म डाइभर्सन सडक निर्माण गरिएको छ भने बगरमा कार्यालय स्थापना भइसकेको छ। साथै विद्युत्गृहबाट निस्कने पानी फाल्न एक हजार १३० मिटर लामो टेलरेस सुरुङ निर्माण पनि सुरु गरिएको छ।
उहाँका अनुसार बगर–तातोपानी खण्डमा सडक निर्माण सम्पन्न नभएसम्म म्याग्दी नदी किनारैकिनार अस्थायी डाइभर्सनमार्फत करिब १० किलोमिटर पहुँचमार्ग दोभानसम्म पुर्याइएको छ। सिभिल ठेकेदार भूगोल इन्फ्रास्ट्रक्चरले टेलरेस सुरुङ खन्न थालेको र बाँध, विद्युत्गृह तथा मुख्य सुरुङ निर्माणको तयारी भइरहेको बताइएको छ।
म्याग्दी र कुनाबाङ खोलाको दोभानमा बाँध निर्माण गरिनेछ। त्यहाँबाट सङ्कलन गरिएको पानी ७१० मिटर पाइपलाइनमार्फत तीन हजार ६ सय मिटर लामो सुरुङमा पठाइनेछ। पुनः ७५० मिटर पाइपलाइनमार्फत पानीलाई ६०७ मिटर उचाइबाट पहाडभित्र निर्माण हुने भूमिगत विद्युत्गृहमा खसालेर विद्युत् उत्पादन गरिनेछ।
‘रन अफ रिभर’ प्रकृतिको यस आयोजनामा २०९ मिटर ठाडो सुरुङ, २३० मिटर प्रेसर टनेल, ५८७ मिटर इनक्लाइन टनेल र ७५७ मिटर पेनस्टक पाइप संरचना रहनेछन्। विद्युत्गृहमा तीन वटा टर्बाइन जडान गरिनेछ।
आयोजनाबाट सुक्खायाममा प्रतिघण्टा ११७ दशमलव ८२ गिगावाट र बर्खायाममा २६४ दशमलव ४५ गिगावाट विद्युत् उत्पादन हुने अनुमान गरिएको छ।
बगर र तातोपानीको बीचमा रहेको पहाडभित्र ६४० मिटर लामो सुरुङमार्फत भूमिगत विद्युत्गृह निर्माण गरिनेछ। बगरदेखि १६ दशमलव पाँच किलोमिटर दूरीमा रहेको डाँडाखेत सबस्टेसनमार्फत केन्द्रीय प्रसारण प्रणालीमा विद्युत् जोड्न १३२ केभी क्षमताको डबल तथा मल्टीसर्किट प्रसारण लाइन निर्माण प्रक्रिया पनि अघि बढाइएको छ।
प्रतिमेगावाट २० करोड रुपैयाँका दरले करिब १३ अर्ब रुपैयाँ लागत अनुमान गरिएको आयोजनाबाट विसं २०८४ चैतदेखि विद्युत् उत्पादन सुरु गर्ने लक्ष्य राखिएको छ।
आयोजना व्यवस्थापक प्रमेश थापाका अनुसार सिभिल ठेकेदार गत पुसदेखि परिचालन भइसकेको छ भने इलेक्ट्रोमेकानिकल र हाइड्रोमेकानिकल ठेकेदार छनोटको चरणमा छन्।
मुख्य सुरुङ खन्ने तयारीस्वरूप केही दिनभित्र भैँसीखर्क क्षेत्रमा विस्फोटक पदार्थ सुरक्षाका लागि नेपाली सेनाको आधार शिविर स्थापना गरिने तयारी गरिएको छ।