काठमाडौं । देशकै सबैभन्दा पुरानो तथा ठूलो प्राज्ञिक संस्था त्रिभुवन विश्वविद्यालय (त्रिवि) ले आफ्नो स्वामित्वमा रहेको तर वर्षौंदेखि अतिक्रमणमा परेको जग्गा तथा अचल सम्पत्ति फिर्ता ल्याउने प्रक्रिया अगाडि बढाएको छ। कार्यकारी परिषद्को निर्णयअनुसार त्रिविले आफ्नो हाताभित्र अनधिकृत रूपमा प्रयोग भइरहेका संरचना र जग्गा खाली गर्न ३५ दिने सार्वजनिक सूचना जारी गरेको हो।
विश्वविद्यालयले सम्बन्धित १८ भन्दा बढी निकायलाई छुट्टाछुट्टै पत्राचार गरिसकेको जनाएको छ। ‘जग्गा तथा अचल सम्पत्ति खोजविन समिति–२०८१’ को विस्तृत प्रतिवेदन कार्यान्वयन गर्दै त्रिविले गत वैशाख ४ गते सार्वजनिक सूचना प्रकाशित गरेको थियो। सरकार तथा विभिन्न दातृ निकायबाट शैक्षिक प्रयोजनका लागि प्राप्त जग्गा व्यक्ति, कम्पनी र संघसंस्थाले कब्जा गरेपछि विश्वविद्यालयले कडा कदम चालेको बताइएको छ।
यस निर्णयको प्रत्यक्ष असर कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा परेको छ। त्रिवि रजिस्ट्रार कार्यालय अन्तर्गत सामान्य प्रशासन महाशाखाले नेपाल क्रिकेट संघ (क्यान) लाई मैदान खाली गर्न पत्र पठाएको छ।
त्रिवि र क्यानबीच २०५४ र २०५९ सालमा भएको द्विपक्षीय सम्झौताको अवधि यही वैशाख अन्तिममा सकिन लागेको छ। विश्वविद्यालयका एक पदाधिकारीका अनुसार यसपटक क्यानसँग सम्झौता नवीकरण गर्ने पक्षमा त्रिवि नरहेको बताइएको छ।
ती पदाधिकारीका अनुसार ठूला खेलकुद प्रतियोगिता हुँदा महिनौँसम्म विश्वविद्यालयको अध्ययन, अनुसन्धान तथा शैक्षिक गतिविधि प्रभावित हुने गरेकाले मैदानसमेत ३५ दिने समयसीमाभित्र खाली गर्न भनिएको हो। हाल क्यानले त्रिविको ७६ रोपनी चार आना जग्गा प्रयोग गर्दै आएको छ।
उता, क्यानको बोर्ड बैठकले भने त्रिविसँगको करार सम्झौता नवीकरणका लागि राष्ट्रिय खेलकुद परिषद् (राखेप) मार्फत नेपाल सरकारलाई अनुरोध गर्ने निर्णय गरेको छ।