काठमाडौँ, १० वैशाख । प्रहरीले गत भदौ २३ र २४ गते जेनजी युवाहरूको आन्दोलनका क्रममा केन्द्रीय कारागार सुन्धाराबाट फरार भएका तीन जना कैदीबन्दीलाई पक्राउ गरी आज सार्वजनिक गरेको छ।
काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता एवं प्रहरी उपरीक्षक रामेश्वर कार्कीका अनुसार पक्राउ पर्नेहरूमा लागुऔषध मुद्दाका कैदी दाङ गढवा गाउँपालिका–१ निवासी ३६ वर्षीय विनोद कुमाल, कर्तव्य ज्यान तथा डाका चोरी मुद्दाका रामेछाप लिखु गाउँपालिका–५ धोबीका ३३ वर्षीय प्रेम तामाङ तथा चोरी मुद्दामा पुर्पक्षका लागि थुनामा रहेका नुवाकोट पञ्चकन्या गाउँपालिका–९ निवासी २९ वर्षीय नवराज थापा रहेका छन्।
प्रवक्ता कार्कीले विशेष सूचनाका आधारमा उनीहरूलाई काठमाडौँका विभिन्न स्थानमा लुकीछिपी बसिरहेको अवस्थामा पक्राउ गरिएको जानकारी दिनुभयो।
उनका अनुसार विनोद कुमाललाई अदालतले लागुऔषध मुद्दामा एक वर्ष तीन महिना कैद सजाय सुनाएको थियो। प्रेम तामाङ कर्तव्य ज्यान तथा डाका चोरीसम्बन्धी मुद्दामा २५ वर्ष कैद सजाय भुक्तान गरिरहेका थिए भने नवराज थापा चोरी मुद्दामा पुर्पक्षका लागि थुनामा रहेका थिए।
पक्राउ परेका तीनै जनालाई आजै केन्द्रीय कारागार जगन्नाथदेवल, सुन्धारामा पठाइएको प्रहरीले जनाएको छ।