बिहिबार, कार्तिक १२ २०८३

बिहिबार, कार्तिक १२ २०८३

भ्रामक समाचार प्रसारण नगर्न प्रहरीको आग्रह

बिहिबार, बैशाख १० २०८३

काठमाडौँ । जिल्ला प्रहरी कार्यालय सिन्धुलीले सर्वसाधारणमा भ्रम सिर्जना गर्ने तथा शान्ति–सुरक्षामा नकारात्मक असर पार्ने किसिमका सामग्री प्रकाशन वा प्रसारण नगर्न सञ्चारमाध्यमलाई आग्रह गरेको छ।

प्रहरीले सुनकोशी गाउँपालिका–३ निवासी श्रीकृष्ण विकको मृत्यु घटनासम्बन्धी तथ्यहीन, भ्रामक र अनर्गल प्रचारप्रसार भएको भन्दै त्यसप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।

जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रवक्ता सूर्यप्रकाश सुवेदीका अनुसार जबर्जस्ती करणी मुद्दाको अनुसन्धानका क्रममा हिरासतमा रहेका विक गत सोमबार इलाका प्रहरी कार्यालय खुर्कोटको हिरासत कक्षभित्र रहेको शौचालयमा रडमा झुन्डिएको अवस्थामा फेला परेका थिए। उपचारका क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ।

उक्त घटनाको सत्यतथ्य छानबिनका लागि सहायक प्रमुख जिल्ला अधिकारी दीपेन्द्र पौडेलको संयोजकत्वमा समिति गठन गरिएको छ। समितिमा पीडित पक्षका प्रतिनिधि, जिल्लास्थित दलित संघसंस्था तथा सरोकारवाला निकायका प्रतिनिधिहरू सहभागी रहेको जनाइएको छ।

प्रहरीका अनुसार छानबिन समितिले कार्य प्रारम्भ गरिसकेको छ र घटनाबारे यथार्थ विवरण समितिको प्रतिवेदनपछि सार्वजनिक गरिनेछ।