काठमाडौं । पछिल्लो समय सरकारका निर्णयहरू विधि, प्रक्रिया र कानुनी मापदण्डविपरीत ‘लहडी शैली’मा अघि बढिरहेको आरोप लगाउँदै प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले असन्तुष्टि व्यक्त गरेको छ।
नागरिकका जायज मागहरू सम्बोधन नभएको र महत्त्वपूर्ण घटनाहरूको निष्पक्ष छानबिनमा सरकार गम्भीर नदेखिएको भन्दै कांग्रेसले दबाबमूलक भूमिका खेल्ने संकेत दिएको हो।
नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले सरकारका कामकारबाहीप्रति असन्तोष जनाउँदै आवश्यक परे पार्टीको आवाज अझ सशक्त बनाइने चेतावनी दिएका छन्। विराटनगर विमानस्थलमा बुधबार सञ्चारकर्मीसँग कुरा गर्दै उनले सरकारका केही निर्णयहरू कानुन मिचेर र ‘लहडका भरमा’ भइरहेको आरोप लगाए।
थापाले भदौ २४ गतेको घटनाको निष्पक्ष छानबिन गर्न कांग्रेसले माग गर्दै आएको स्मरण गराउँदै ती माग पूरा नभए पार्टीले दबाब सिर्जना गर्ने स्पष्ट संकेत गरे। उनले भने, “हाम्रा माग पूरा भएनन् भने ती कसरी पूरा गराउने र आवाजलाई कसरी सशक्त बनाउने भन्ने हामीलाई राम्ररी थाहा छ।”
उनले कुनै पनि नेपाली नागरिकमाथि अनुसन्धान गर्ने सरकारको अधिकारलाई कांग्रेसले सम्मान गर्ने बताए। तर पछिल्लो समय सरकारले विधि र विधान मिचेर निर्णय गर्ने प्रवृत्ति बढेकाले त्यसतर्फ ध्यानाकर्षण गराइएको उनको भनाइ थियो।
सभापति थापाले संघीय संसद्मा कांग्रेस प्रतिपक्षमा भए पनि सातै प्रदेशमा पार्टी सरकारमा रहेको उल्लेख गर्दै केन्द्रीय कार्यसमितिको निर्णयअनुसार सरकारका सकारात्मक काममा समर्थन रहने बताए।
उनले कांग्रेसको प्रतिपक्षी भूमिका तथ्यमा आधारित हुने र जनहितका मुद्दामा सरकार चुके पार्टी दृढ रूपमा उभिने दाबी गरे। “हामी अराजक वा अनावश्यक चर्को हुँदैनौँ, त्यसैले कतिपयलाई हाम्रो आवाज कम सुनिएको जस्तो लाग्न सक्छ। तर, हामी जिम्मेवार छौँ र आवश्यक ठाउँमा आवश्यक विषय उठाइरहेका छौँ,” उनले भने।