वीरगञ्ज (पर्सा) । वीरगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको नौ महिनामा रु १ खर्ब ७७ अर्ब ६६ करोड राजस्व सङ्कलन गरेको छ।
कार्यालयका अनुसार यो सङ्कलन गत आर्थिक वर्षको सोही अवधिको तुलनामा रु १६ अर्ब २० करोड अर्थात् करिब १० प्रतिशत बढी हो।
सूचना अधिकारी उदयसिंह विष्टका अनुसार कार्यालयले नौ महिनामा लक्ष्यको ८९ प्रतिशत राजस्व संकलन गरेको छ। भन्सार विभागले सो अवधिका लागि रु १ खर्ब ९९ अर्ब ३४ करोड राजस्व लक्ष्य तोकेको थियो।
मासिक विवरणअनुसार साउनमा रु १८ अर्ब ४४ करोड, भदौमा रु २० अर्ब ७३ करोड, असोजमा रु १९ अर्ब ९ करोड, कात्तिकमा रु १७ अर्ब ३३ करोड र मङ्सिरमा रु २० अर्ब ८० करोड राजस्व सङ्कलन भएको छ।
त्यसैगरी पुसमा रु २० अर्ब २० करोड, माघमा रु १८ अर्ब ९२ करोड, फागुनमा रु १९ अर्ब ३४ करोड र चैतमा सबैभन्दा बढी रु २२ अर्ब ८२ करोड राजस्व सङ्कलन भएको कार्यालयले जनाएको छ।
भन्सार विभागले चालु आर्थिक वर्षभरिमा वीरगञ्ज भन्सार कार्यालयलाई रु २ खर्ब ७३ अर्ब ३९ करोड राजस्व संकलन गर्ने लक्ष्य दिएको छ। हालसम्म वार्षिक लक्ष्यको करिब ६५ प्रतिशत मात्र पूरा भएको छ। बाँकी तीन महिनामा थप राजस्व संकलन हुने सम्भावना भने रहेको कार्यालयले जनाएको छ।