बुधबार, कार्तिक ११ २०८३

बुधबार, कार्तिक ११ २०८३

भक्तपुर औद्योगिक महोत्सव सम्पन्न, ८० लाखभन्दा बढीको कारोबार

मंगलबार, बैशाख ८ २०८३

भक्तपुर । नयाँ वर्ष २०८३ को अवसरमा भक्तपुरको सल्लाघारीस्थित १०९ रोपनी चौरमा आयोजना गरिएको ‘१०औँ भक्तपुर औद्योगिक, सांस्कृतिक, पर्यटन, कृषि तथा व्यापार महोत्सव’ सोमबार राति सम्पन्न भएको छ। १२ दिनसम्म सञ्चालन भएको महोत्सवमा करिब ८० लाख रुपैयाँभन्दा बढीको कारोबार भएको आयोजकले जनाएको छ।

औद्योगिक शान्ति नेपाल संस्थाले गत चैत २६ गतेदेखि सञ्चालन गरेको महोत्सवमा एक लाख ३० हजारभन्दा बढी दर्शक तथा उपभोक्ताले अवलोकन गरेका संस्थाका अध्यक्ष सन्दीप महतले जानकारी दिए।

महोत्सवमा १८० वटा स्टल राखिएका थिए, जहाँ दैनिक उपभोग्य सामग्रीदेखि विभिन्न औद्योगिक तथा घरेलु उत्पादनसम्म बिक्रीका लागि राखिएको थियो। एकै स्थानमा आवश्यक सामग्री सुपथ मूल्यमा पाइने भएपछि उपभोक्ताको उल्लेख्य भीड लागेको थियो।

महोत्सवका संयोजक दीपक थापाका अनुसार स्थानीय उत्पादनको बजार प्रवर्द्धन गर्ने, राष्ट्रिय तथा अन्तरराष्ट्रिय ब्रान्डका सामान एकैथलोमा उपलब्ध गराउने तथा भक्तपुरको कला, संस्कृति र परम्पराको प्रचार गर्ने उद्देश्यले महोत्सव आयोजना गरिएको हो।

प्रदर्शनीमा खाद्यान्न, लत्ताकपडा, जुत्ता, कृषि सामग्री, हस्तकला, काष्ठकला, माटाका भाँडा, घरेलु उत्पादन, सूचना प्रविधि, अटोमोबाइल, विद्युतीय उपकरण, मोबाइल तथा इलेक्ट्रोनिक्स सामग्री समावेश गरिएको थियो।

महोत्सवको मुख्य आकर्षणका रूपमा निर्माण गरिएको ‘लन्डन ब्रिज’ मा फोटो तथा भिडियो खिच्नेहरूको भीड देखिएको थियो। साथै बाल उद्यान, रोटेपिङ, ड्रागन ट्रेन, नाउ तथा बालबालिकाका खेलौनाले पनि दर्शक तानेका थिए।

दैनिक सांस्कृतिक कार्यक्रममा चर्चित गायक–गायिकाको प्रस्तुति रहेको थियो। प्रमोद खरेल, दुर्गेश थापा, रामकृष्ण ढकाल, रचना रिमाल, एलिना चौहानलगायत कलाकारहरूको प्रस्तुति तथा नृत्य प्रतियोगिताले महोत्सवमा थप रौनक ल्याएको थियो।

महोत्सवको समापन सोमबार सूर्यविनायक नगरपालिकाका प्रमुख वासुदेव थापाले गरेका थिए।